निर्वाचन आयोगले भन्यो – रास्वपाका महामन्त्री मुकुल नै हुन्

हिमाल प्रेस ६ असार २०८२ १९:०२ | Friday, June 20, 2025
निर्वाचन आयोगले भन्यो – रास्वपाका महामन्त्री मुकुल नै हुन् मुकुल ढकाल। फाइल तस्बिर।

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री मुकुल ढकाल नै रहेको ठहर गरेको छ। आयोगले रास्वपालाई पत्र पठाउँदै ढकाल नै महामन्त्री रहेको जनाएको हो।

आयोगले रास्वपाको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर १५ महिनाअघि भएको र त्यसपछि हालसम्म अद्यावधिकबाट नदेखिएको उल्लेख गरेको छ।

रास्वपाको कारबाहीमा परेर पार्टीको महामन्त्री र केन्द्रीय सदस्यबाट निकालिएका ढकालले अभिलेखकको विवरण उपलब्ध गराउन माग गरेर निवेदन दिएका थिए।

त्यसको जवाफमा आयोगले २०८० चैत १० पछि रास्वपाको विवरण अद्यावधिक नभएको भनी जवाफ पठाएको हो।

निर्वाचन आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका प्रमुख केदार अधिकारीले आयोगको तथ्यांकमा रास्वपाको विवरण अद्यावधिक नभएकाले हालसम्म ढकाल नै महामन्त्री देखिएको पत्र दिइएको बताए।

प्रक्रियाअनुसार विवरण नपठाएकाले आयोगमा रास्वपाको अद्यावधिक हुन नसकेको उनको भनाइ छ।

‘अद्यावधिक गर्न उहाँहरूले पत्र पठाउनु भएको थियो। तर, त्यो प्रक्रियाअनुसार मिलेको थिएन,’ उनले भने,‘प्रक्रिया अनुसार सबै विवरण उपलब्ध गराउन भनेका छौँ। तर, हालसम्म आयोगमा आइसकेको छैन।’

रास्वपाले कारबाही गरेर ढकाललाई पार्टीबाट निष्कासन गरे पनि विवरण अद्यावधिक नहुँदा आयोगसँग भएको विवरणमा ढकाल अझै पार्टीका महामन्त्री हुन्।

अझै पार्टीको महामन्त्री रहेको भनेर आयोगले पत्र दिएसँगै ढकालले शुक्रबार कार्यबाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेललाई छलफलका लागि समय माग्दै पत्राचार गरेका छन्।

पार्टी सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेकाले विभिन्न निर्णय गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक बोलाउन उनले अर्याल र वाग्लेलाई पत्राचार गरेका हुन्।

पार्टी सभापति थुनामा रहेकाले पार्टी नेतृत्वको जिम्मेवारीलगायतका विषयमा छलफल गर्न भन्दै उनले उपसभापतिको हैसियतले बैठक बोलाउने समय तोक्न माग गरेका हुन्।

प्रकाशित: ६ असार २०८२ १९:०२ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast