 
                             
                                            काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले प्रसाईमाथि नयाँ नयाँ मुद्दा थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको बताएका हुन्।
पछिल्लो दुई वर्षमा हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना एवं भुइँमान्छेका समस्या उजागर गर्ने काममा प्रसाईले महत्त्वपूर्ण योगदान दिएको समेत थापाले लेखेका छन्। प्रसाई २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनको कमाण्डर बनेका थिए।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्याएका थिए। घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए। अहिले प्रसाई प्रहरी हिरासतमा छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 