 त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर।
                             त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर।
                                            काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा भएको तोडफोड र अन्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्थामा लाखौं विद्यार्थीको भविष्य निर्माणको प्रक्रिया सञ्चालन भइरहेकै बेला हिंसात्मक र गैरकानुनी गतिविधि हुनु गम्भीर र निन्दनीय रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले यस्तो कार्य शैक्षिक क्यालेण्डरमा अवरोध पुर्याउने र सम्पूर्ण शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै भर्त्सना गरेको छ।
त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७(३) अनुसार सहकुलपतिका हैसियतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त घटनाको सूक्ष्म अध्ययन गरिरहेको जनाइएको छ।
साथै, मन्त्री पन्तले दोषी जोसुकै भए पनि पहिचान गरी कानुनी दायरामा ल्याउने उद्देश्यले गृह प्रशासनसँग परामर्श भई आवश्यक निर्देशन दिइसकिएको उल्लेख छ।
प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटा हस्ताक्षरित विज्ञप्तिमा भविष्यमा यस्ता अप्रिय घटनाहरू कुनै पनि विश्वविद्यालय वा शैक्षिक संस्थामा पुनः नदोहरिने गरी सम्बन्धित सबै पक्षलाई जिम्मेवारीपूर्वक र संयमतापूर्वक अघि बढ्न मन्त्रालयले आग्रह समेत गरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 