प्रतिनिधिमूलक तस्बिर
दाङ- तुलसीपुर उपमहानगरपालिका-४ स्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ।
कक्षा १२ पढेपछि विदेश जाने लहर चलेपछि विद्यार्थीले नेपालमै केही गर्न सक्छन्, भन्ने सन्देश दिन यो कार्यक्रम अघि बढाएको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताए।
उनका अनुसार सोमबारदेखि सुरु भएको उक्त कार्यक्रम यही असार ७ गतेसम्म चल्नेछ। त्यस क्रममा निजामती, शिक्षक सेवा, नेपाल प्रहरी, नेपाली सेना, बैंकिङ, न्यायलगायतका सेवाका बारेमा विद्यार्थीलाई जानकारी दिइने छ।
सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यार्थी पछिल्लो समय निजामती, शिक्षकलगायतका सेवामा भन्दा विदेश जाने गरेकाले नेपालमै भविष्य बनाउनुपर्छ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम अघि बढाइएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले विद्यार्थीले जुन विषयमा रुचि छ त्यही विषयमा गहिरिएर लागेमा सफलता हात पर्ने बताए।
‘सबै निजामती नै हुनुपर्छ भन्ने होइन राम्रो व्यवसायी, राम्रो कलाकार, राम्रो खेलाडी बन्न सकिन्छ’, उनले भने।



