तनहुँमा चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय परिचालन गरिने

हिमाल प्रेस २८ जेठ २०८२ १६:३२ | Wednesday, June 11, 2025
तनहुँमा चितुवा नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीय परिचालन गरिने चितुवा। प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार पछिल्लो दुई महिनामा बन्दीपुर गाउँपालिका-२ मा चितुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भइसकेको छ।

बन्दीपुरका स्थानीयवासीले आज प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै चितुवा नियन्त्रण गर्नुपर्ने माग गरे। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले चितुवा नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने, सो जनशक्तिबाट सम्भव नभए राष्ट्रिय निकुञ्ज विभागलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यसैगरी, वन क्षेत्रको अध्ययन गरी चितुवाको गणना गर्न गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको उनले बताए। चितुवाको आक्रमणबाट सोमबार साँझ बन्दीपुर गाउँपालिका-२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको मृत्यु भएको थियो।

घरको आँगनमा खेलिरहेका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो। त्यसैगरी गत चैत २९ गते बन्दीपुर गाउँपालिका-२ कामीडाँडामा चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्यु भएको थियो। डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ। तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनी क्षेत्रमा चितुवाको आतंक छ। चितुवाको आक्रमणबाट पछिल्ला ८ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन्।

प्रकाशित: २८ जेठ २०८२ १६:३२ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast