 नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाक्री
                             नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाक्री
                                            बुटवल– नेकपा एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कानुनी र संवैधानिक समस्या देखिएकाले अब ‘अर्ली महाविधेशन’ मा जानुपर्ने बताएकी छन्।
पार्टी निकट युवा संघको लुम्बिनी तथा रुपन्देही जिल्ला भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उनले समस्याको समाधान ‘अर्ली महाधिवेशन’ बाट खोजिनुपर्ने बताएकी हुन्।
पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपामाथि मुद्धा चलेपछि अध्यक्ष पद छाड्ने की नछाड्ने भन्ने विषयमा बहस भइरहेको बेला झाक्रीले पार्टी पूर्नगठन गर्नुभन्दा ‘अर्ली महाधिवेशन’ मा जानु राम्रो हुने बताइन्।
‘अध्यक्षको बारेमा संकट आयो, अब के गर्ने?,’ झाक्रीले भनिन् ‘मनोनितिबाट पूर्नगठित गर्नुभन्दा अर्ली महाधिवेशन गरौँ।’
उनले कानुनी र संवैधनिक हिसाबले एकिकृत समाजवादीसहित अन्य पार्टीका सदस्यहरुमाथि पनि समस्या देखिएको प्रसंग उल्लेख गर्दै अब पार्टी सुढृढ बनाउन करेक्सन गर्दै जानुपर्ने बताइन्।
‘काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनिन् ‘यदि सुदृढ पार्टी बनाउने हो भने अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ।’
उनले एकीकृत समाजवादीको गत महाधिवेशन मनोनितहरुबाट भएको सन्दर्भ कोट्याउँदै अब त्यसो गर्न नहुने बताइन्। उनले पार्टीलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिँदै अब असन्तुष्टिहरुलाई थुन्न नहुने बताइन्।
‘थुनिएको पोखरीमा जसरी त्यहाँ किरा, फट्याङ्ग्रा, पात पतिङगर कुहिएर हुन्छ, त्यहीँ रहेको ढुंगोलाई चिल्लो बनाएर बसेर हुन्न,’ उनले भनिन्। उनले त्यसरी थुनेर राख्ने हो भने पार्टी बन्न नसक्ने बताइन्।
नेता झाक्रीले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेसन’ हुने समेत बताइन्। उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढ्दै जाँदा अराजकहरुको हातमा राजनीति जान सक्ने संकेत गरिन्। झाक्रीले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भए पनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन्।
उनले सत्तामा जाने र निस्किने क्रम जारी रहेको बताउँदै अब जिम्मेवार राजनीति आवश्यक रहेको उल्लेख गरिन्। ‘आम रुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थाका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन,’ उनले भनिन्।
उनले पुर्नउत्थानबादी शक्तिहरुले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दल र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको बताइन्। उनले अब यी सबै कुराहरुबाट शिक्षा लिँदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गरिन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 