झम्क तिमल्सिनाको दोस्रो उपन्यास ‘विमुक्ति’ को लोकार्पण

हिमाल प्रेस ७ असार २०८२ २०:३८ | Saturday, June 21, 2025
झम्क तिमल्सिनाको दोस्रो उपन्यास ‘विमुक्ति’ को लोकार्पण

काठमाडौँ– आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा शनिबार लोकार्पण भएको छ। प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचक द्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरेका हुन्।

कथाकार ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको बताइन्। ‘कृतिकारबाट आगामी दिनमा यस्तै रचना आउन्, प्रेरणा मिलोस्,’ उनले भनिन्।

कृतिका विषयमा समालोचक थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा समेटिएको बताए। समाजमा सबै पक्षले मान्छे सुविधाभोगी भए पनि ऊ भित्र दुःखको पहाड हुने पनि बताए। साथै, विमुक्ति एउटा सामाजिक र दार्शनिक उपन्यास रहेको प्रस्ट पारे।

यसैगरी, अर्का समालोचक पौड्यालले पनि विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको उल्लेख गरे। कृति उच्च सम्भ्रान्त वर्गको कथा भए पनि त्यहाँभित्रको अदृश्य पाटो उत्खनन गरिएको पनि उनको भनाइ थियो। धनी मान्छेका पनि दुःख हुन्छन्, दुःख धनी र गरिबका उस्तै हुने हुँदा यसलाई उच्च वर्गको दुःखको कथा रहेको प्रस्ट्याए।

समाजमा प्रौढ व्यक्तिका दुःख र कथा कम लेखिएको समयमा विमुक्तिले त्यो अभाव पूर्ति गर्ने प्रयास गरेको पनि पौड्यालले बताए। उडेर जहाँ गए पनि भुइँ छोड्न नहुने सन्देश पनि कृतिले समेटेको उल्लेख गरे, जहाँ जीवन र सुखदुखको विरोधाभास पाइनेछ।

कार्यक्रममा कृतिकार तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए।

कृषि विकास बैंकका उच्च अधिकारी कृतिकार तिमल्सिनाले यसअघि विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन्। पेज टर्नर प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ४५० रहेको छ।

प्रकाशित: ७ असार २०८२ २०:३८ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast