 
                             
                                            दाङ- घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई विशेष प्राथमिकता दिएको छ। सोमबार नगरसभाको १७औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विभिन्न योजनाहरू अगाडि सारेका हुन्।
उक्त नीति अनुसार विद्यार्थीको सङ्ख्यालाई आधार मानी नमुना विद्यालयको पुनरावलोकन गरिने र ती विद्यालयलाई न्यूनतम आवश्यक पूर्वाधारसहितको बनाइने उल्लेख गरिएको छ। खानेपानी, शौचालय, फर्निचरजस्ता आधारभूत पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयको भौतिक सुधार गरिने बताइएको छ।
शिक्षामा मातृभाषा शिक्षाको प्रवर्द्धन गर्न थारु भाषाका लागि कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने नीति लिइएको छ। त्यस्तै, मगर भाषामा पनि पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाइ सुरु गरिने उल्लेख छ।
बाल विकास केन्द्रदेखि माध्यमिक तहसम्मको शिक्षामा विषयगत शिक्षकको दरबन्दी विद्यार्थी संख्याका आधारमा मिलान गरिने नीति पनि प्रस्तुत गरिएको छ। यसले शिक्षक विद्यार्थी अनुपात सन्तुलनमा ल्याउने नगरप्रमुख चौधरीको भनाइ छ।
शिक्षामा गुणस्तर ल्याउन अब आवश्यक पूर्वाधार, पाठ्यक्रमको सुधार र शिक्षण जनशक्तिको व्यवस्थापनमा जोड दिइने उपमहानगरपालिकाको दाबी छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 