 
                             
                                            पोखरा- गण्डकी प्रदेशसभा चलिरहँदा माओवादी केन्द्रका एक सांसदले रोष्ट्रममै प्रदेशको बजेट पुस्तिका च्यातेका छन्।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट असमान ढंगले ल्याएको आरोप लगाउँदै गण्डकीका पूर्व भौतिक मन्त्रीसमेत रहेका माओवादी सांसद रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका हुन्। उनी २०७९ सालको चुनावमा म्याग्दी (ख) बाट निर्वाचित भएका थिए।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे। मुख्यमन्त्री र अर्थमन्त्रीले आ–आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको उनको आरोप छ।
‘बजेटमा लगातार २ वर्षसम्म म्याग्दीलाई अन्याय भएको छ,’ उनले भने, ‘अहिलेको बजेट म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा माननीय सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद।’
म्याग्दीमा साढे ३ करोडको मात्र नयाँ योजना छानिएको तैपनि कांग्रेस र एमालेले छानेको योजना परेको उनले बताए। उनले म्याग्दीको समस्या र अवस्था अर्थमन्त्री र भौतिक मन्त्रीलाई थाहा नभएकाले बजेट नछुट्याएको हुनसक्ने भन्दै दुवै जना मन्त्रीलाई म्याग्दी लगेर घुमाउनेसमेत बताए। उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म म अर्थमन्त्री र भौतिक मन्त्रीलाई घुमाउन चाहन्छु, त्यो पनि आफ्नै खर्चमा।’
जुग्जालीले अहिलेको बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दमहासागरतिर पुगेको टिप्पणी गरे। गण्डकीको बजेटमा देवीदेवताको मन्दिर र धामका लागि धेरै बजेट छुट्याएको भन्दै उनले भने, ‘बजेटबाट सबैभन्दा बढी देवीदेवता खुसी भएको हुन सक्छ।’
सरकारले आगामी आव २०८२/०८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ। जसमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पुँजीगततर्फ ११ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ छुट्याइएको छ। त्यसमध्ये धेरै बजेट जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुन्छन्। मन्त्रालयमातहतको पूर्वाधार विकास निर्देशनालय, यातायात व्यवस्था र सहरी विकास तथा भवन कार्यालयबाट कार्यान्वयन हुन्छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : पर्यटन, पूर्वाधार, कृषिमा जोड [पूर्णपाठसहित]](https://himalpress.com/wp-content/uploads/2024/06/gandaki_niti_tatha_karyakram.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 