कोशीको बजेट ३५ अर्ब : पूर्वाधारमा जोड, कृषि र स्वास्थ्य प्राथमिकतामा परेन

हिमाल प्रेस १ असार २०८२ १७:३२ | Sunday, June 15, 2025
कोशीको बजेट ३५ अर्ब : पूर्वाधारमा जोड, कृषि र स्वास्थ्य प्राथमिकतामा परेन

इटहरी- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रदेशसभामा प्रस्तुत गर्दै विकास र समृद्धिको आधार तयार गर्नेसमेत दाबी गरे।

हालको बजेट अघिल्लो वर्षको तुलनामा करिब १.१७ प्रतिशतले बढाइएको हो। गत वर्षको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ थियो। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहाेर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदानबाट ३९ करोड १७ लाख प्राप्त हुने जनाइएको छ।

यसैगरी, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख गरी खर्च व्यहोरिने आर्थिक मामिला तथा योजना मन्त्री मगरले जनाए। बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड बेहाेरिने बजेट वक्तव्यमा उल्लेख छ।

बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका लागि ९६ करोड विनियोजन गरिएको छ।

प्रकाशित: १ असार २०८२ १७:३२ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast