कुशल भुर्तेलको अर्धशतकले नेदरल्याण्ड्समाथि ६ विकेटको विजय

हिमाल प्रेस ६ असार २०८२ ५:३४ | Friday, June 20, 2025
कुशल भुर्तेलको अर्धशतकले नेदरल्याण्ड्समाथि ६ विकेटको विजय

काठमाडौँ- कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतमा नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा दोस्रो जित दर्ता गरेको छ। बिहीबार ग्लास्गोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको हो।

नेदरल्याण्ड्सले दिएको १७५ रनको चुनौती नेपालले १९.४ ओभरमै ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। नेपाली पारीको मेरुदण्ड बनेका ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। त्यसैगरी, आरिफ शेखले ३९ रन जोडेका थिए भने १६८ रन हुँदा उनी आउट भए। टी-२०आई डेब्यु गर्दै गरेका भीम सार्कीले संयमित ब्याटिङ गर्दै २७ रन बनाए।

नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले समान १–१ विकेट लिए। त्यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै आक्रामक ८६ रन बनाए। भेट्रान अलराउन्डर रोलफ भान डर मर्वेले २१ बलमा अविजित ३६ रन जोडे।

४५ रनमै ४ विकेट गुमाएको अवस्थामा नेदरल्याण्ड्सलाई लेभिट र साकिब जुल्फिकरले ६३ रनको साझेदारी गर्दै सम्हाले। त्यसपछि भान डर मर्वेले आर्यन दत्तसँग ४५ रनको अन्तिम साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन खर्चिँदै २ विकेट लिए। ललित राजवंशी, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रुपेश सिंहले समान १–१ विकेट लिए। अब नेपालले शृंखलाको अन्तिम खेल आज स्कटल्याण्डविरुद्ध खेल्नेछ। नेपालले यसअघि नेदरल्याण्ड्ससँग तीन सुपर ओभर खेलेको रोमाञ्चक खेलमा हार बेहोरेको थियो भने स्कटल्याण्डलाई पराजित गरेको थियो।

प्रकाशित: ६ असार २०८२ ५:३४ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast