काँकडभिट्टाबाट १८ अर्बको पेट्रोलियम पदार्थ भित्रियो

हिमाल प्रेस १० असार २०८२ ८:१५ | Tuesday, June 24, 2025
काँकडभिट्टाबाट १८ अर्बको पेट्रोलियम पदार्थ भित्रियो

झापा- चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा एक अर्ब छ करोड ४३ लाख रुपैयाँ अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ।

कार्यालयको तथ्यांकानुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार राजस्व संकलन भएको छ।

उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख रुपैयाँ मूल्य पर्ने ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो।

छ अर्ब २६ करोड ७१ लाख मूल्य पर्ने ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ। सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्य पर्ने २३ हजार ४३८ मेट्रिक टन एलपी ग्यास, रु ६१ करोड २० लाख मूल्य पर्ने छ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्य पर्ने दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ।

प्रकाशित: १० असार २०८२ ८:१५ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast