ओली स्पेन प्रस्थान गर्दै, को को छन् भ्रमण टोलीमा?

हिमाल प्रेस १४ असार २०८२ ७:५५ | Saturday, June 28, 2025
ओली स्पेन प्रस्थान गर्दै, को को छन् भ्रमण टोलीमा?

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन प्रस्थान गर्दैछन्।

स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४०) का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुनेछन्।

नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ। सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर। प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन्। भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नेछन्। कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ। नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ।

कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा.स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन्।

काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ। भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन्। रासस

प्रकाशित: १४ असार २०८२ ७:५५ | Saturday, June 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast