 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            बुटवल– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन्।
उनले आफूहरूले कानुन र अदालतको सम्मान गर्ने तर, अख्तियारले दाबी गरेजस्तो अध्यक्ष नेपाल अनियमिततामा संलग्न नरहेको बताए।
गृहजिल्ला रूपन्देहीको तिलोत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्वालाई बदलाको भावनाले अगाडि बढाएको बताए।
‘ओलीजी आफ्ना विरोधीलाई ८४ सम्म सकाउन लाग्नुभएको छ, त्यहि सिलसिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्वा चलाइएको हो,’ उनले भने।
भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्षमाथि पनि त्यहि नियति दोहरिएको उल्लेख गरे।
‘८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको छ, त्यो पूरा हुँदैन,’ उनले भने। उनले पार्टीमाथि भएको आक्रमणलाई चिर्न अनुरोध गरे। भुसालले वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताउँदै यसबाट मुक्ति पाउन सुशासन र रोजगारी मूल ऐजेन्डा हुनुपर्ने बताए।
उनले वर्तमान सरकारकै कारण सडकमा पुनरउत्थानवादी शक्ति देखिएको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 