उजाडिएको गाउँका मिहिनेती किसान रघुनाथ

हिमाल प्रेस २९ जेठ २०८२ ८:५६ | Thursday, June 12, 2025
उजाडिएको गाउँका मिहिनेती किसान रघुनाथ

बागलुङ- बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ।

खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडा पाडी, बारीमा व्यावसायिक घाँस खेती। यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल।

उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुन्छन्। गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँस खेती गर्दै आएका पौडेल परिवारसँग प्लास्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ।

बुवाछोरा मिलेर पाँच वर्षयता भैँसीपालन मार्फत दूध र मह उत्पादन गर्दै आएका छन्। गाउँमा बसाइँसराइले बाँदर आतंक भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ।

परम्परागत कृषि कर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइ राखेका छन्।

‘गाउँ रित्तियो, सम्पत्ति भएका त सहर बजार सरे, हामी बाउ छोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ’, बुबा रघुनाथले भने, ‘हाल ६ वटा मुर्रा भैँसी र तीन वटा गाईपालन गरेका छौँ। आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लास्टिक टनेल, १० रोपनी जग्गामा घाँस खेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ।’

गाईभैँसी र पाडा पाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए।

पाँच वर्ष अघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछा पालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ।

बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ। ‘हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ। छिस्ती पाडा पाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुपालन गर्दै आएका छौँ। यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु’, राजनले भने।

हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन्। यी सबै हुर्किए र उत्पादन सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ।

बाँदरको आतंकपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन्। त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहु वर्षे घाँस खेती गर्दै आएका छन्।

यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए।

प्रकाशित: २९ जेठ २०८२ ८:५६ | Thursday, June 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast