सडक स्तरोन्नति गर्न माग गर्दै गाउँपालिका कार्यालयमा प्रदर्शन

हिमाल प्रेस २७ जेठ २०८२ ७:२३ | Tuesday, June 10, 2025
सडक स्तरोन्नति गर्न माग गर्दै गाउँपालिका कार्यालयमा प्रदर्शन

पाल्पा- पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन्। यसका लागि उनीहरूले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन्।

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रामपुर बेलडाँडा, ढुंगानाबेँसी, मित्याल अरुणखोला सडकखण्डअन्तर्गत पर्ने सडक समयमा नै स्तरोन्नति नहुँदा आवातजावत गर्नेले सास्ती भोग्नुपरेको छ। नवलपुर क्षेत्रको भागमा सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पाल्पा खण्डका भागमा स्तरोन्नतिको काम भएको छैन।

करिब पाँच दशकअघि नक्सा तयार भएर सडक मार्ग (ट्रयाक) खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नतिको काम हुनसकेको छैन। सो सडकखण्ड भएर यात्रा गर्ने यात्री तथा स्थानीयवासीले झमेला बेहोर्नुपरेकाले सडक स्तरोन्नति छिटो गर्न माग गर्दै गाउँपालिका कार्यालयलाई ध्यानाकर्षण गराएको युवा कमल सारुले बताए।

‘निस्दीलाई विकास भिरमाथिको फल बन्यो, निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरोन्नतिमा किन ढिलो, जनतालाई सास्ती भो’जस्ता लेखिएका प्लेकार्डसहित युवाले कार्यालयमा धर्ना दिएका हुन्। आगामी बजेटबाट सरकारले यस सडकखण्डलाई प्राथमिकता दिएर स्तरोन्नतिको काम गर्नुपर्ने युवाको माग छ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यो सडक संघ सरकारको मातहतमा रहेकाले प्रदेश र गाउँपालिका आफैँले खर्च गर्न नपाउने हुँदा स्तरोन्नतिको काम नभएको हो।

दुई प्रदेशलाई जोड्ने सहज पहुँचमार्गको सडक स्तरोन्नति गर्न संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भइरहेको छ। सडकखण्डलाई प्राथमिकतामा राखेर संघीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ।

उनले सम्बन्धित निकायमा जानकारी गराउने र छिटोभन्दा छिटो सडक स्तरोन्नतिको माग गर्ने जानकारी दिए। सडक स्तरोन्नतिका सम्बन्धमा जनस्तरबाट सरोकारवाला निकाय तथा व्यक्तिलाई पटकपटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि समयमै दिगो र प्रभावकारी काम हुन नसक्दा स्थानीय, यात्री तथा व्यवसायीले कष्टसँग यात्रा गर्न बाध्य बनेका छन्।

क्षतिग्रस्त सडकखण्डको तत्काल अनुगमन गरी मर्मतसम्भार, उचित ढल निकास गर्दै सडकको दीर्घकालीन स्तरोन्नति र उपयुक्त समय सीमा निर्धारण, बाह्रै महिना सडक सञ्चालन गर्न नियमित मर्मत, आगामी बजेटबाट यस सडकखण्डलाई विशेष महत्वका साथ पर्याप्त बजेट विनियोजन, काममा भइरहेको ढिलासुस्ती, लापरवाही र अनियमितताका सम्बन्धमा पालिकाबाट नियमित अनुगमन तथा निगरानी गर्न युवाहरूले ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएका छन्।

प्रकाशित: २७ जेठ २०८२ ७:२३ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast