
ललितपुर– अपाङ्गता सशक्तिकरण समाज नेपालद्वारा आयोजित अपाङ्गता भएका युवायुवतीको सशक्तिकरणसम्बन्धी एक दिने सचेतना कार्यक्रम ललितपुरको महालक्ष्मी नगरपालिकाअन्तर्गत इमाडोलमा सम्पन्न भएको छ।
समुदायमा आधारित पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत आयोजित यस कार्यक्रममा अपाङ्गता भएका युवायुवतीको सशक्तीकरण र समावेशी विकासको मूल प्रवाहिकरणका विषयमा विशेष छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रम महालक्ष्मी नगरपालिकाको समन्वयमा, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा सम्पन्न भएको हो। कार्यक्रममा बहिरा, दृष्टिविहीन, बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, तिनका अभिभावकसहित ४८ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले गरिन्। उपप्रमुख महर्जनले समावेशी विकास सबैको साझा दायित्व भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीय सरकार पूर्ण प्रतिबद्ध रहेको बताइन्। ‘समाजमा सबैलाई समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो,’ उनले भनिन्।
नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनिता शर्माले अपाङ्गता भएका व्यक्तिहरूको लागि नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी गराउँदै अझ प्रभावकारी र दिगो कार्यक्रमहरू आवश्यक रहेको धारणा राखिन्। उनले अपाङ्गतामैत्री पूर्वाधार, शिक्षा, सीप विकास तालिम, र उपचारको पहुँच सुनिश्चित गर्न निरन्तर काम भइरहेको बताइन्।
कार्यक्रममा इन्क्लुसिभ सोलुसनका कार्यकारी निर्देशक तथा अधिवक्ता मुकुन्दहरि दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, रोजगारी, प्रविधिमा पहुँच तथा नीति निर्माणमा सहभागी गराउने आवश्यकतामा जोड दिए। ‘समान अवसरको ग्यारेन्टी बिना समावेशी समाजको कल्पना गर्न सकिंदैन,’उनले भने।
अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका युवाहरूको सशक्तीकरणका चुनौतीहरूबारे प्रस्तुतिकरण गरिन्। उनले अपाङ्गता भएकाहरूप्रति समाजमा अझैहीन दृष्टिकोण रहेको, शिक्षा प्रणाली अपाङ्गमैत्री नभएको, तथा नीति कार्यान्वयन कमजोर रहेको जस्ता मुद्दाहरू उठाइन्।
कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूले आफैं पनि सशक्त भई आफ्नो अधिकारको लागि आवाज उठाउनुपर्नेमा जोड दिए।
संस्थाका महासचिव तथा कार्यक्रम सञ्चालक इन्जिनियर कृष्ण महर्जनले महालक्ष्मी नगरपालिकामा अपाङ्गता समन्वय समिति निर्माण गरी आवश्यकता अनुसार कार्यक्रम तय गरिने जानकारी दिए।
सचेतना कार्यक्रमले अपाङ्गता भएका युवायुवतीहरूको क्षमता उजागर गर्दै उनीहरूलाई समावेशी विकासको मूलधारमा ल्याउने दिशा तर्फ महत्वपूर्ण कदम अगाडि बढाएको सहभागीहरूले बताएका छन्।