फेवा सिमानामा पिल्लर गाड्न सुरु

हिमाल प्रेस १७ जेठ २०८२ २१:२१
20
SHARES
फेवा सिमानामा पिल्लर गाड्न सुरु

पोखरा– फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लर गाड्न सुरु गरिएको छ।

तीनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमांकन गरी सिमाक्षेत्रमा पिल्लर गाडिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।

तालघरमा पिल्लर गाड्ने कार्यको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे। उनले ताल संरक्षण कार्यमा यो औपचारिक शुभारम्भ भएको प्रतिक्रिया दिए।

नगर प्रमुख आचार्यले फेवाताल जोगाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा ऐतिहासिक कार्यको सुरुवात भएको बताए। उनले तालको सीमा क्षेत्रमा पिल्लरहरु गाडेपछि पाँच दशक अघिदेखिको अनुत्तरित सवाल फेवातालको वास्तविक सीमाका विषयमा वैज्ञानिक जवाफसहित कैयौँ अड्कलबाजी अन्त्य भएको बताए।

उनले यस अभियानले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै झण्डै १८ महिनाको निरन्तर प्रयासपछि फेवातालको हाई फ्लड विन्दु आधारमा तालको सिमाना यकिन गरिएको जनाए।

उनका अनुसार तालको करिब १६ किलोमिटर परिधिमा १ हजार ५५ सीमा स्तम्भहरू गाडिने छन्। यसपछि मापदण्डभित्र पर्ने जग्गा र संरचनाको नियमानुसार क्षतिपूर्तिको व्यवस्थासहित अवैधानिक तालको पछिल्लोपटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्थाबारे विवरण यकिन गरिएका छन्।

सर्वोच्चको फैसला कार्यान्वयनका लागि सहजीकरण समितिले पोखरामा पत्रकार सम्मेलन गरी तीन तहका सरकारको उपस्थितिमा तालको चारैतिर पिल्लर गाड्ने जनाए अनुसार पिल्लर गाड्ने कार्य सुरु भएको हो। सर्वोच्चको फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना पनि रहेको मेयर आचार्यले प्रस्ट पारे।

पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेशकुमार आचार्य लगायतको उपस्थितिमा फेवातालको सिमाक्षेत्रमा ७ वटा पोलहरू गाडिएका छन्।

पिल्लर गाड्ने बेलामा भने केही स्थानीयले लालपुर्जा देखाउँदै पिल्लर गाड्ने कार्यको विरोध जनाएका थिए।

फेवातालको सिमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको थियो।

पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० सेन्टिमिटर उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन्। यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ। उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ। उक्त विन्दुलाई आधार मान्दा तालको तालघर ६.३४३ वर्ग कि.मी. अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ।

प्रकाशित: १७ जेठ २०८२ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast