
इटहरी– सुनसरीमा एक सेवाग्राहीको बैंक खाताबाट कनेक्ट आइपीएसमार्फत १३ लाख ५० हजार रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएको छ।
मोरङको सुन्दरहरैंचा ८ का उमनाथ खतिवडाको नाममा रहेका दुई फरक बैंक खाताबाट शुक्रबार राति रकम चोरी भएको घटना बाहिरिएको हो।
विराटचोकस्थित प्राइम बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडमा रहेका खतिवडाका खाताबाट शुक्रबार राति ८ बजेतिर कनेक्ट आइपीएस ह्याक गरेर तीन वटा फरक खातामा रकम ट्रान्सफर गरिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा परेको उजुरीअनुसार प्राइम बैंकमा रहेको खाताबाट ११ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको खाता नम्बर ०२७०९९७५०४५०००१५ मा ट्रान्सफर गरिएको छ। यस्तै, नेपाल बैंक लिमिटेडको खाताबाट २ लाख रुपैयाँ नविल बैंकको खाता नम्बर २०११००१७५०३९७० र ५० हजार रुपैयाँ सिद्धार्थ बैंकको खाता नम्बर ५५५०८८३०७३० मा पठाइएको देखिएको छ।
खतिवडाले आफ्नो बैँक खाता रहेको बैँकको पासवर्ड कसैलाई नदिएको दाबी गरे। ‘मैले न पासवर्ड दिएको छु, न कोड पठाएको छु, कसरी पैसा गायब भयो?,’ भन्दै उनले बैंक प्रणालीमाथि नै प्रश्न उठाए।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा तीनवटै खातालाई रोक्का गर्न पत्राचार गरिएको छ।
साथै खाताका बैंक स्टेटमेन्ट, र रकम कसरी ट्रान्सफर भयो भन्नेबारे विस्तृत जानकारी संकलन गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।