कांग्रेस-एमालेसँग सहकार्य नगर्ने प्रचण्डको घोषणा

हिमाल प्रेस १७ जेठ २०८२ २०:४१
40
SHARES
कांग्रेस-एमालेसँग सहकार्य नगर्ने प्रचण्डको घोषणा काठमाडौँको कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य नगर्ने घोषणा गरेका छन्। काठमाडौँको कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन्।

उनले माओवादी केन्द्र सरकारमा जाँदा पटक-पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको बताए। प्रचण्डले भने, ‘हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो। उनीहरूको रोग त फेरि सरुवारोग हो। अब जनताको घरघरमा गएर त्यसको उपचार गर्छौँ। हामी उनीहरूसँग सहकार्य गर्दैनौँ।’

अध्यक्ष प्रचण्डले पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पारे। उनले जनतामाझ गएर व्यवहारबाटै माओवादीलाई सच्याएर जनताको असली पार्टीको रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि गरे।

‘अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस-एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएको छ’, उनले भने।

अध्यक्ष प्रचण्डले कीर्तिपुरलाई सधैँ परिवर्तनका पक्षमा भूमिका खेल्दै आएको बताए। उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गरे।

‘कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ’, उनले भने, ‘यसपटक जित्न विशेष प्रयास गर्‍यौँ, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्‍याउन सक्यौँ। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका छौँ।’

अध्यक्ष प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर आफूहरूविरुद्ध लागेको आरोप लगाए। उनले भने, ‘जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।’

उनले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमीक्षा गर्दै देशव्यापी जनतासँग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए। ती अभियानअन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उनले बताए।

अध्यक्ष प्रचण्डले देशव्यापी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद भइरहेको बताए। उनले भने, ‘हामी जनतासँगै खायौँ, सँगै बस्यौँ, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौँ। हामी जनतासँग एकाकार भएर अगाडि बढेका छौँ। जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ।’

सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए। उनले नेवार समुदायलाई प्राथमिकता दिनका लागि पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियानलाई जेठ २१ पछि सारिएको समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast