इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न न्यायालयका कर्मचारीलाई प्रधानन्यायाधीश राउतको आग्रह

हिमाल प्रेस १७ जेठ २०८२ २०:१७
इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न न्यायालयका कर्मचारीलाई प्रधानन्यायाधीश राउतको आग्रह

ललितपुर– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताएका छन्।

न्यायपालिका अधिकृत समाजको शनिबार ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन्। देशभरका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उनको भनाइ छ।

न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गरे।

‘अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ। मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो हुन्छ, यसमा ध्यान दिनुहुन मेरो आग्रह छ,’ उनले भने।

मुद्दा फछर्यौट, पेसी व्यवस्थापनमा उत्साह र क्रियाशीलता आवश्यक रहेको बताउँदै उनले संसदीय समितिमा दुई वर्षभित्र दुई वर्षभन्दा बढी अवधिका मुद्दा शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले सो उपलब्धि हासिल गर्न समन्वय र सहयोग गर्न सबैलाई अनुरोध गरे।

प्रधानन्यायाधीश राउतले अधिकृत समाजले संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्नुपर्नेमा जोड दिँदै न्याय क्षेत्रमा काम गर्ने अधिकृत समग्र न्यायपालिकाको ऐना भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने धारणा राखे।

न्याय क्षेत्र गरिमामय सेवा भएको बताउँदै उनले न्याय सेवाका कर्मचारीप्रति राष्ट्र र समाजले विश्वास गर्ने भएकाले हामी इमान्दार र निष्ठावान् हुनुपर्नेमा जोड दिए।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकाको गरिमा उच्च राख्न मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले संविधानले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गरेको जनाउँदै यसको गरिमालाई उच्च राख्न न्यायपालिका इमान्दार र पारदर्शी हुनुपर्ने धारणा राखे।

न्यायपालिका अधिकृत समाजका संस्थापक अध्यक्ष न्यायाधीश विनोद शर्माले न्यायपालिकाको मेरुदण्ड अधिकृत भएको भन्दै अधिकृत मजबुत भए मात्रै न्यायसम्पादन सहज हुने बताए। अधिकृतले आफ्नो आवाज प्रतिविम्बित गर्ने उपयुक्त माध्यम अधिकृत समाज रहेको उनको भनाइ छ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले न्यायपालिकामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकृतले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै तार्किक निष्कर्षमा पु¥याउने काम अधिकृतको भएको जानकारी दिए। उनले न्यायपालिकाका अधिकृतले काम र निष्ठाले न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै अधिकृतहरू न्यायपालिकाको कर्मशील व्यक्तित्व भएका धारणा राखे।

प्रकाशित: १७ जेठ २०८२ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast