
लुम्बिनी– नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अर्थमन्त्री विष्णु पौडेलको प्रशंसा गरेका छन्। भुटानी शरणार्थी प्रकरणको मुद्धापछि सार्वजनिक कार्यक्रमहरुमा निकै कम देखिने नेता खाँणले उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री पौडेलले ल्याएको अहिलेको बजेट उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका हुन्।
बुटवल उपमहानगरपालिकाले शनिबार आयोजना गरेको सिमा जोडिएका पालिकाहरुसँग सहकार्य र संयुक्त अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी बजेट आएको बताए।
‘रोष्ट्रममा उभिएपछि अर्काका बारेमा विरोध गर्ने प्रचलन बनेको छ। तर वर्तमान प्रधानमन्त्री, अर्थमन्त्रीले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्कृष्ट बजेट ल्याउनुभएको छ, यसका लागि म अर्थमन्त्रीज्यूलाई यही मञ्चबाट धन्यवाद दिन्छु,’ उनले भने।
रुपन्देही क्षेत्र नं. २ बुटवल क्षेत्रबाट निर्वाचित भएका अर्थमन्त्रीलाई उनकै नगरमा पूर्वगृहमन्त्रीले प्रशंसा गर्दा सहभागीहरुले ताली बजाएर समर्थन गरे।
‘इतिहासमै सुर्वण शम्शेरपछिको क्रान्तिकारी बजेट हो,’ खाँणले भने। उनले बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीलाई सुधार गर्ने बताए।
‘बजेट यथार्थमा आधारित रहेको छ,’ उनले भने। खाँणले यसअघि नेपालमा आउने भारतीय पर्यटकहरुले २५ हजार रुपैयाँमात्रै ल्याउन पाउने अवस्था रहेको भन्दै अहिले सरकारले ल्याएको बजेटले त्यसलाई ५ सय डलर पु¥याएको बताए। यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिने उनको भनाइ छ।
खाँणले बजेटले विदेशी लगानी भित्र्याउन, लगानीका लागि निजि क्षेत्रलाई उत्साही बनाउने काम गरेको बताए।
पूर्वगृहमन्त्री खाँणले भारतीय पर्यटकलाई नेपाल प्रहरीले अनेक सास्ती, झन्झट र चेकिङले गरेको भन्दै यसले पर्यटन प्रवद्र्धन नहुने बताए। उनले यसलाई तत्काल सुधारका लागि प्रदेशका मन्त्री, प्रहरी प्रशासनको समेत ध्याणआर्कषण गराए।
उनले स्थानीय, प्रदेश र संघीय सरकारहरुले बजेट ल्याउँदा केन्द्रीय नीतिलाई हेर्न समेत ध्यानआर्कषण गराए।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक योजना तथा मामिलामन्त्री धनेन्द्र कार्कीले बुटवल उपमहानगरपालिकाले सिमाका पालिकाहरुसँग छलफल गरेर दीगो विकासको नीति लिएको बताए।
उनले प्रदेश सरकारले समेत सहकार्यको अभ्यास गरेको बताउँदै बुटवल उपमहानगरको थालनी सकरात्मक रहेको बताए। यस्तै उनले लुम्बिनी प्रदेशमा भारतीय पर्यटकहरुलाई प्रहरी प्रशासनबाट भएको चेकिङ सम्बन्धी गुनासोलाई तत्काल समाधान गर्न स्थानीय प्रशासनको ध्यानआर्कषण गराए।
अन्तरक्रिया कार्यक्रममाबुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले आफूहरुले छिमेकी पालिकाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको भन्दै संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे। उनले राजस्व बाँडफाँड, जग्गाको सदुपयोग, वन र नदीजन्य पदार्थको निकासीमा आफूहरुको असन्तुष्टि रहेको बताए।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, संविधानविद् काशिराम दाहाललगायतले बोल्दै स्थानीय सरकारले जनताको भावनालाई आत्मासथ गर्दै नीति अगाडि सार्नुपर्ने बताए।