बाबुरामले भने- बूढीगण्डकी आयोजनाको हत्या भयो

हिमाल प्रेस १७ जेठ २०८२ ९:३१
100
SHARES
बाबुरामले भने- बूढीगण्डकी आयोजनाको हत्या भयो डा. बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको टिप्पणी गरेका छन्। केपी ओली नेतृत्वको वर्तमान सरकारले बजेट वक्तव्यमार्फत आयोजनाको हत्या गरेको भट्टराईले टिप्पणी गरेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेट वक्तव्यमा बूढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने र आयोजनामा सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिने उल्लेख छ।

भट्टराईले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको छ।’

आयोजनाको २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको उनको भनाइ छ। ‘यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२/०८३ को बजेटवक्तव्यको बुँदा २२४ मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ’, डा. भट्टराईले लेखेका छन्।

उनले यसलाई देश र जनतामाथि अक्षम्य अपराध र धोका भएको आलोचना गरेका छन्। ‘देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाका रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ताको नाताले म यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु’, उनले लेखेका छन्।

उनले भविष्यको उज्ज्वल सपनाको खातिर आफ्नो पुस्तौँदेखिको सम्पत्ति र थातथलो सहज हस्तान्तरण गरेर यो आयोजना कार्यान्वयनका लागि पूर्ण सहयोग गर्दै आएका गोरखा र धादिङको प्रभावित क्षेत्रका जनताप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका छन्।

‘यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु’, भट्टराईले लेखेका छन्।

प्रकाशित: १७ जेठ २०८२ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast