
यसपटक हरिहरपुरगढी-७ का लालबहादुर बराइलीसँग भेट भयो। चैत १२ गते बर्दिबासबाट काठमाडौँ फर्किन म सिन्धुली हुँदै हेटौँडा आउँदै थिएँ। काठमाडौँ आउन यसपटक यो रुट समात्नुका केही कारण थिए-
१. सिन्धुलीको मरिन क्षेत्रमा म एसएलसी पास भएपछि नागरिकता बनाउने सन्दर्भमा जिल्ला सभापतिको सिफारिस लिन गएको थिएँ; त्यसको घुर्मैलो स्मृति मात्र थियो; मलाई यो अद्यावधिक गर्नु थियो।
२. मदन भण्डारी लोकमार्गको सिन्धुलीपूर्वको खण्डमा मैले यात्रा गरिसकेको थिएँ; सिन्धुलीदेखि हेटौँडासम्म त्यस लोकमार्गको यात्रा अनुभव बटुल्नु थियो।
३. त्यस रुटमा पर्ने बागमती पुल हेर्नु र फास्ट-ट्र्याकको निर्माण अवस्था हेरेर रमाउनु थियो।
४. फापरबारी, छतिउनजस्ता मकवानपुर जिल्लामा पर्ने केही क्षेत्रको नाम मैले पटकपटक सुनेको थिएँ; पुग्न पाएको थिइनँ; त्यो भूगोल र बसोबासको ढाँचासँग परिचित हुनु थियो।
५. हेटौँडा लामो समयसम्म बसेँ। छाडेको पनि केही वर्ष भइसक्यो। यस बीचमा हेटौँडा र आसपासका बस्तीहरूमा पहिलो दृष्टिमा पर्ने स्तरको परिवर्तन रेखांकन गर्नु थियो।
वास्तवमा २७ फागुन २०८१ (तदनुसार ११ मार्च, २०२५) का दिन काठमाडौँबाट बर्दिबास आउँदा हामी दुई दाजुभाइ सँगसँगै थियौँ र जनकपुरसम्म हवाईजहाजमा आएका थियौँ। सात बजे उड्ने भनेको बुद्ध एयरको जहाज ‘डिले’ भएर नौ बजे यात्रुलाई प्लेनमा चढाउँछ र केही समय विमानमा राखेर ‘लौ, यो जाँदैन; त्यो जान्छ, त्यसमा जानोस्’ भनेर यात्रुलाई थोत्रो लोकल बसको स्वाद चखाउँछ भनेर कसले सोचेको थियो र! जनकपुर पुग्दा साढे १० जति भइहाल्यो। हामीसँग कुनै लजमा जसोतसो रात गुजारेर भोलिपल्ट बर्दिबास आउनुको विकल्प थिएन।
यात्रामा सहयात्री कोही छ भने यात्रा स्वछन्द प्रकारको हुँदैन, सहयात्रीको चाहबाट कुनै न कुनै रूपमा यात्राको स्वछन्दता प्रभावित हुन्छ-हुन्छ। यो स्वाभाविक परिघटना हो।
बर्दिबासबाट काठमाडौँ फर्किँदा भने म आफू मात्र फर्किँदै थिएँ र विमानको यात्राबाट उक्ताएको पनि थिएँ। एक्लै फर्किन लागेकाले आफूले सोचेकै किसिमले यात्रा गर्ने सुविधा मलाई प्राप्त पनि थियो।
केही योजना भने बनाउन आवश्यक थियो। जस्तो, सिन्धुलीबाट हेटौँडा सार्वजनिक बसको रुट कायम भएको छ कि छैन भन्ने बारेमा मलाई जानकारी थिएन; त्यो एउटा मुख्य जोखिम थियो। अर्को, रुट कायम भए बस कतिकति बजे कहाँबाट छुट्छ भन्ने बारेमा पनि यकिन गर्नुपथ्र्यो। र, तेस्रो चाहिँ मैले त्यसै दिन हेटौँडाबाट काठमाडौँ जाने सुमो भेट्नु थियो। सिन्धुलीबाट हेटौँडा जाने गाडी ढिलो भयो भने हेटौँडाबाट काठमाडौँ जाने सुमो नपाउने अवस्था हुन सक्थ्यो।
म गत चैत ११ गते सिन्धुलीमा बास बस्ने गरी आएँ। म आइपुग्दा बसका टिकट काउन्टर बन्द हुने तरखरमा थिए। म पहिले त्यतै दौडिएँ र टिकट लिएँ।
अनि बासको बारेमा सोचेँ- ‘साँझ छिप्पिइसक्यो; छिटो सुत्ने मान्छे त सुती नै सके होलान्। फेरि भोलि बिहान मलाई सखारै हिँड्नु पनि छ;। लजमै बस्नु उचित हुन्छ।’
१२ गते बिहान सात बजेको थियो- मेरो टिकट। मलाई सिन्धुलीदेखि हेटौँडासम्म बाटोघाटो, वनजंगल, खोलानाला, पुलपुलेसा, घरहरू, बस्ती, रहनसहन, बजार, विद्यालय, बालीनाली आदि हेर्दै जानु थियो; बसमा पछाडिको सिटमा बसेर यो सबै देखिन्छ त!
बसमा अगाडिको सिटमा बस्न म झन्डै आधा घन्टाअघि नै बसपार्कमा दाखिला भएँ। बसमा यात्रु आएकै थिएनन्; जता बसे पनि भयो। सिट रोजीछाडी गर्ने सुविधा मलाई उपलब्ध थियो। म अगाडिकै सिटमा बसेँ। यस सिटबाट चालकसँग संवाद गर्न सहज थियो। बरु चालक पो कत्तिको फरासिलो पर्ने हो?
चालक सिटमा आएपछि मैले भनेँ- म काठमाडौँ जानुपर्ने मान्छे। यताका ठाउँहरू हेरूँ भनेर यस रुटमा आएको छु। तपाईँ यी ठाउँका बारेमा जानकार हुनुहुन्छ। मैले केही सोधेँ भने तपाईँले झर्को मान्न पाउनु हुन्न है।’
चालक हाँसे।
बस सात बजे नै हिँड्यो।
चालक फरासिला रहेछन्। सोधेका प्रश्नको जवाफ दिन झिँझो मानेनन्। यही रुटमा पर्ने रहेछ- यिनको घर। बसबाटै यिनले आफ्नो घर पनि देखाए। सुनकोशी-मरिन ड्राइभर्सनको मरिनतर्फको भाग पनि बसको गति धिमा पारेरै सम्झाए। ठाउँका नाउँ, स्कुल, बजार, अर्गानिक पसल, बालीनाली, मरिनमा मिसिने खोलाखोल्सा आदिका बारेमा उनले बताउँदै आए। मरिन फाँट पनि ठूलो रहेछ; म चदाहा फाँटको मान्छे। चदाहा फाँट र मरिन फाँटलाई दाँज्दै पनि थिएँ। नयाँ ठाउँ हेर्न पाएकोमा रमाउँदै पनि थिएँ।
मरिन फाँटमा मैले सुनेको ठाउँको एउटा नाम थियो- बफर। यहाँको एउटा माध्यमिक विद्यालयमा मेरो एउटा भाइले लामै समयसम्म पढाएको थियो। काठमाडौँबाट हेटौँडा आउने क्रममा एकपटक सुमोमा भेट भएका बफरका ठेगुवा राईले मैले आफूलाई श्याम सरको दाजु हुँ भनेर चिनाउँदा निक्कै आफन्तीपन देखाएका थिए र एकदुई पटक फोन गरेर उनको ‘श्याम सर’का बारेमा सोधेका पनि थिए।
सडकको नजिकै भए मलाई बफर गाउँ र श्यामराजले पढाएको त्यो विद्यालय हेर्नु पनि थियो।
मेरो अर्को मुख्य जिज्ञासा थियो- हरिहरपुरगढीका सम्बन्धमा। चालकले हरिहरपुर गढी जाने बाटो र गढीमा विद्यमान स्मारकहरूका बारेमा संक्षेपमा बताए। उनले भने- ‘हरिहरपुर गढी हेर्न बस्न यो भन्दा फरक किसिमले अलिक फुर्सद लिएर आउनुपर्छ।’
बस आफ्नो गतिमा थियो। रोकिनुपर्ने स्थानमा रोकिन्थ्यो; यात्रुहरू बसबाट झर्थे; बसमा उक्लिन्थे। यही क्रममा एकजना यात्रु बसमा म नजिकैको सिटमा बस्न आई पुगे। चालक र मेरा बीचमा चल्दै आएको जिज्ञासा र समाधानमा यी नयाँ यात्रुले चासो मानेको छनक भयो। मैले अलिक ध्यान दिएर हेरें; टोपी लगाएका छन्; घाँटीमा रामनामी बेह्रेका छन्, सामान्य भेषभूषामा छन्।
सामान्यतया म मोटरयात्रामा मोटर गतिमान रहदा चालकसँग गफ गर्न चाहन्नँ। यस यात्रामा भने म निरूपायजस्तै थिएँ र चालकसँग गफिँदै आएको थिएँ। यी रामनामीवाला यात्रुले मेरा जिज्ञासामा जागरुकता देखाएको भान भएपछि म बिस्तारै चालकसँग टाढिन र यी रामनामीवाला यात्रुसँग नजिकिन थालेँ। यिनले रामनामी बेह्रेको देख्दा मलाई लागेको थियो- कतै पुराण सुनेर घर फकिएका हुन् क्यार!
मैले पहिले यिनलाई त्यही सोधें- ‘पुराण सुनेर आउनुभएको?’
होइन रहेछ। यिनको निकट नातेदारको मृत्यु भएकाले ती दिन यी शोकको अवस्थामा रहेछन्। यिनले भने- ‘शोकको अवस्थामा धार्मिक अनुष्ठानमा के सहभागी हुनु र!’ मैले यिनको घाँटीमा बेह्रिएको ‘रामनामी’ तर्फ संकेत गर्दा यिनले भने- ‘यो प्रायः म बाँध्न रुचाउँछु; घाँटीमा बेह्रेकै हुन्छु।’
यी रहेछन्- लालबहादुर बराइली। हरिहरपुर गाउँ पालिका वडा नम्बर-७ यिनको ठेगाना। २०२७ साल यिनको जन्ममिति।
नेपाली समाजमा विद्यमान छुवाछुत प्रथालाई अविकासको ज्वलन्त सूचकका रूपमा लिने गरिन्छ। यो प्रथाविरुद्ध औपचारिक स्तरमा राज्य नयाँ मुलुकी ऐन-२०२० देखि लड्दै आएको छ; तर सामाजिक जीवनमा यो प्रथा अझै दह्रै किसिमले कायम छ भन्ने कुरा पुष्टि गर्ने बग्रेल्ती दृष्टान्तहरू प्रकाशमा आइरहेका छन्।
परिचयको सामान्य औपचारिक स्तर पार गरेपछि मैले बागलुङका सर्वजीत विश्वकर्माले गरेको सामाजिक विद्रोहको समेत सामान्य चर्चा गरेँ र लालबहादुर बराइलीसंग अलिकति भूमिका बाँधेर यही विषयमा जिज्ञासा राखेँ।
मैले भनें- ‘छुवाछुत प्रथा नेपाली समाजको एक गम्भीर पक्ष हो। तर यसलाई प्रभाव पार्ने धेरै परिघटना भएका छन्। एउटा त राज्यले छुवाछुतको व्यवहारलाई अपराधका रूपमा परिभाषित गरेको छ। दोस्रो, नेपाली समाजमा बढ्दै आएको साक्षरताले पनि यसको प्रभाव धिमा बन्दै आएको अनुमान गर्ने गरिन्छ। विश्वव्यापीकरणको एउटा पक्षका रूपमा रहेको विश्वव्यापी श्रम सञ्चरण र समाजको आधुनिकीकरणको प्रक्रियाले पनि छुवाछुतलाई कमजोर बनाएको अनुमान गरिन्छ। अझ कतिपय राजनीतिक आन्दोलनले छुवाछुतलगायतका सामाजिक भेदभावका मुद्दालाई केन्द्रमा राखेको र वर्षौँसम्म कठोर युद्ध लडेको देखिएको हो। म तपाईँबाट तपाईको गाउँठाउँमा छुवाछुतको वर्तमान स्वरूपका बारेमा सुन्न चाहन्छु।’
लालबहादुर बराइलीजीले मैले अनुमान गरेको भन्दा फरक जवाफ दिए। बराइलीजीले भने- ‘कतिपय बाहुनक्षेत्रीले छोएको/पकाएको म खान्नँ; हामी खाँदैनौँ। जाँडरक्सी खाएर मातेर हिँड्ने र जहाँ पायो त्यहीँ खाने बाहुनक्षेत्रीले छोएको/पकाएको कसरी खानु! हामीलाई चल्दैन।’
बराइलीजी कुनै हिन्दू धर्मको कुनै एक धार्मिक सम्प्रदायसँग सम्बन्धित रहेछन्। यी माछामासु, जाँडरक्सी केही नखाने। अनुकूल मिलेसम्म आफैँ/आफ्नो सम्प्रदायका सदस्यले पकाएको खाने। यिनकी आमा पनि यही सम्प्रदायकै हुनुहुँदोरहेछ। हरिहरपुरगढी- ७ मा यस सम्प्रदायका बाइस-पच्चीस परिवार रहेको बराइलीजीले जानकारी दिए।
लौ, नेपाली समाजमा छुवाछुतको यस्तो स्वरूप पनि रहेछ!
मानवशास्त्री एमएन श्रीनिवासले चर्चा गरेको ‘संस्कृतिजेसन’को प्रक्रियासँग नेपाली समाजमा देखिएको यस प्रक्रियाले कुन हदसम्म तादाम्य राख्दो हो!!
लालबहादुर बराइलीजीले मलाई नेपाली समाजमा छुवाछुतको यस्तो स्वरूपसँग साक्षात्कार गराइदिए।