
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिका लागि छुट्टाछुट्टै तयारी गरिरहेका डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच लामो अन्तरालपछि भेटवार्ता भएको छ।
झन्डै ११ महिनादेखि संवादमा नरहेका दुई नेताबीच शुक्रबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको हो।
१४ औँ महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट प्रतिस्पर्धा गरेका थिए। सभापतिमा चुनाव लडेका कोइराला दोस्रो चरणको मतदानमा पराजित भए पनि थापा महामन्त्रीमा निर्वाचित भए।
महाधिवेशनको परिणाम प्रतिकूल आए पनि दुवै नेताबीचको दूरी बढेन। तर, संसदीय दलको नेताका लागि महामन्त्री थापाले प्रतिस्पर्धा गरेपछि दुवै नेताबीचको सम्बन्ध मलिन भयो।
संसदीय दलको चुनावमा आफ्नै समूहको सबै मत पाउन नसकेपछि महामन्त्री थापा रुष्ट बने। त्यो बेला संसदीय दलमा महामन्त्री थापालाई समर्थन गरेर १५ औँ महाधिवेशनमा कोइरालालाई पार्टीको सभापतिका लागि सहयोग गर्ने समूहमा सहमति भएको थियो।
तर, पछिल्लो समय महामन्त्री थापा आफैँ आगामी सभापतिको तयारीमा जुटेपछि कोइरालासँग उनको दूरी झनै बढ्यो। अन्तिमपटक दुवै नेताबीच कांग्रेस–एमालेको गठबन्धनको सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको थियो। नेताहरूका अनुसार त्यसयता कोइराला र थापाबीच संवाद भएको थिएन।
यहाँसम्म कोइराला सहभागी हुने कार्यक्रममा महामन्त्री थापाको उपस्थिति देखिन छोडियो। इतर समूहका भेलाहरूमा पनि थापा देखिएनन्। झन्डै ११ महिनापछि भएको यो संवादले दुवै नेताबीच देखिएको फाटो अन्त्य हुने संकेत रहेको भन्दै इतर समूहका कार्यकर्ता उत्साहित बनेका छन्।
दुवै नेताबीच शुक्रबार भेटघाट भएको महामन्त्री थापानिकट स्रोतले पुष्टि गरेको छ।
‘एउटा मिटिङ सकेर आउँदै थियौँ, शेखर दाइको फोन आयो, क्रियाशील सदस्यताबारे कुरा गर्नुप¥यो भनेर,’ थापानिकट स्रोतले भन्यो,‘महामन्त्रीज्यूले हुन्छ नि दाइ तपाईँकै अफिसमा आउँछु भनेर भन्नुभयो। शेखर दाइको सम्पर्क कार्यालयमा कुराकानी भएको हो।’
उनका अनुसार दुवै नेताबीच क्रियाशील सदस्यताबाहेक पार्टी महाधिवेशन, समूह, सरकारलगायतका विषयमा कुनै संवाद भएको छैन।
‘शेखर दाइले क्रियाशील सदस्यताबारे कुरा गर्नुपर्यो भनेपछि समितिको संयोजक रहेको नाताले जानै पर्यो,’ उनले भने,‘क्रियाशील सदस्यताबाहेक अरू केही कुरा भएको छैन। दुवै जनाबीच मुश्किलले १० मिनेट छलफल भएको हो।’
क्रियाशील सदस्यताबाहेक अरू कुनै कुरा नभएको बताउँदै उनले बाहिर आएजस्तो केही नरहेको दाबी गरे।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएपछि कांग्रेसभित्र दुई धार देखिएको छ। संस्थापन समूह लेखकको बचाउमा उत्रिएको छ भने नेता कोइरालाले गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन्।
महामन्त्री थापाले भने गृहमन्त्री लेखकबारे मध्यमार्गी प्रतिक्रिया दिएका छन्। कोइरालाले भने जस्तो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने नबताए पनि उनले भिजिट भिसा प्रकरणको अनुसन्धानमा कुनै अलमलमा नपरी संलग्नलाई दण्डित गर्नुपर्ने बताएका छन्।
महामन्त्री थापाले अनुसन्धान गृहमन्त्रीसम्म पुगे अनुसन्धानको दायरमा आएका व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक र वैधताको सवाल बन्ने प्रक्रिया दिएका छन्।
गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने नेता कोइरालाको प्रतिक्रिया कांग्रेस पदाधिकारी बैठकको विषयसमेत बन्यो। महामन्त्री थापाले भने पदाधिकारी बैठकको एक दिनपछि धरानमा पार्टी कार्यक्रममा बोल्दै भिजिट भिसा प्रकरणबारे बोलेका थिए।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका कोइरालासँग स्पष्टीकरण सोध्नुपर्ने उपसभापति पूर्णबहादुर खड्का र नेता शशांक कोइरालाले धारणा राखेका थिए।
संस्थापन समूह गृहमन्त्री लेखकको बचाउमा उत्रिएका बेला पछिल्लो समय महामन्त्री थापाले भिजिट भिसा प्रकरणमा कोइरालालाई समर्थन हुनेगरी धारणा राखेको इतर समूहका नेताहरूको बुझाइ छ।
भिजिट भिसा प्रकरणमा नेता कोइराला र महामन्त्री थापाले सार्वजनिक रूपमा आफ्नो धारणा राखे पनि शुक्रबार भएको भेटमा यो विषयमा कुनै कुरा ननिस्किएको थापानिकट स्रोतको भनाइ छ।
‘सरकार सञ्चालन, भिजिट भिसा प्रकरण, गृहमन्त्रीको राजीनामालगायतका विषयमा कुनै कुरा भएको छैन। यी प्रसंगहरू नै निस्किएनन्। केवल क्रियाशील सदस्यताका सम्बन्धमा भइरहेका काम र प्रगतिबारे मात्रै छलफल भएको हो,’ स्रोतले भन्यो।
कोइराला र महामन्त्री थापा आ–आफ्नै ढंगले अगाडि बढ्न थालेपछि समूहका लागि ठीक नभएको भन्दै संवादका लागि नेता–कार्यकर्ताले दबाब बढाउन थालेका छन्। १४ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका दुवै नेता आगामी महाधिवेशनमा पनि सँगै जानुपर्ने इतर समूहका नेताहरूको छ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालानिकट नेता रामकृष्ण यादव दुवै नेताबीचको दूरी समूहलाई कमजोरमात्रै बनाउने बताउँछन्।
‘उहाँहरूबीच दूरी बढ्नु समूहका लागि ठीक होइन, यसले समूहलाई कमजोर बनाउने काममात्र गर्छ। दुवै नेतासँगै आउनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने।