फेवाताल अतिक्रमणबाट जोगाउन पिल्लर गाडिने

हिमाल प्रेस १६ जेठ २०८२ २०:००
18
SHARES
फेवाताल अतिक्रमणबाट जोगाउन पिल्लर गाडिने

पोखरा- प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको फेवाताल संरक्षणका लागि ताल सिमाना (तालघर) मा अब पिल्लर गाडिने भएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालको चारैतिर १५५ वटा पिल्लर गाड्ने जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा तालको चारैतिर पिल्लरहरु गाड्ने जानकारी दिए। उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना पनि रहेको जनाए।

तालको पछिल्लोपटक पुनः नापजाँच गरी यथार्थ अवस्थाबारे विवरणहरू यकिन गरिएको जनाइएको छ। तालको सिमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण सम्पन्न गरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

जसमा २९ मुख्य आधार विन्दुहरू कायम गरी ४० सेमि उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन्। यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको उनले बताए।

सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको उनले बताए। उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालघर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ। सर्वोच्चले तोकेको ६५ मिटरसमेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किमी आर्थत् १४ हजार ९७० रोपनी ५ आना २ दाम कायम हुने आचार्यले बताए।

सर्वेक्षणपश्चात् तिनै तहका सरकारको समन्वयमा कास्कीमा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र यस अघिल्लो अध्ययन प्रतिवेदन कार्यदलका संयोजकहरू पुण्यप्रसाद पौडेल र विश्वप्रकाश लामिछाने समेतसँग छलफल गरिएको समितिले बताएको छ। अब दोस्रो चरणमा तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि तथा पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिनेछ।

सर्वोच्चले गत २०८० असार ४ मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नू गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो।

प्रकाशित: १६ जेठ २०८२ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast