
इटहरी– त्रिभुवन विश्वविद्यालयमाथि विद्यार्थीले लगाउने आरोपको सूची लामै छ- क्यालेन्डरअनुसार परीक्षा लिँदैन, परीक्षा भएको वर्षौँसम्म नतिजा सार्वजनिक गर्दैन, पुनः परीक्षा गर्न ढिलाइ गर्छ, त्यति मात्रै होइन प्रमाणपत्र लिन निकै सास्ती दिन्छ, परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी विद्यार्थीमैत्री सेवा गर्दैनन्। देशको जेठो विश्वविद्यालयमाथि यस्ता आरोप लाग्नु नयाँ कुराचाहिँ होइन। किनभने त्रिवि र बेथिति पर्याय हुन्।
भुक्तभोगीका अनुसार त्रिवि लामो समयदेखि यसरी नै चल्दै आएको छ। कुनै बेला अन्य विश्वविद्यालय स्थापना नहुँदा एकमात्र विकल्पका रूपमा रहेको त्रिविको पछिल्लो समय साख गिर्नुको कारण पनि यही रहेको सरोकारवालाहरूको बुझाइ छ।
त्रिविले परीक्षा प्रणाली सुधार गर्ने लक्षण देखाएको दाबी सम्बद्ध अधिकारीहरूले गरेका छन्। मुलुक संघीयता प्रणालीमा बामे सर्दै गरेको अवस्थामा त्रिविले पनि सम्बन्धित प्रदेशमै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरेको छ।
त्रिविले कोशी प्रदेशका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा हुने परीक्षाका उत्तरपुस्तिका विराटनगरमै जाँच गर्नेगरी तयारी थालेको हो। जहाँ अहिले संरचनासमेत निर्माण भइरहेको छ। केन्द्रीकृत मानसिकताबाट केही हदसम्म भएपनि त्रिवि सुधार भएको जानकारहरू बताउँछन्।
यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी कार्यशाला गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ। इटहरीस्थित जनता बहुमुखी क्याम्पसको सभाहलमा परीक्षाका केन्द्राध्यक्ष तथा उत्तरपुस्तिका परीक्षकहरूका लागि आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले परीक्षा प्रणाली बिस्तारै सुधार हुँदै जाने दाबी गरे।
‘मैले कोर्स बनाउन पाइँन। मैले कोर्स पढाउन र उत्तरपुस्तिका परीक्षण गर्न पाउँदिनँ भने त्यो महत्त्व हुँदैन,’ उनले भने, ‘मैले ताप्लेजुङमा पढाउँछु भने काठमाडौँको अनकन्टारमा बसेर डिजाइन बनाएको कोर्स पढाएर हुँदैन। त्यो कुन कन्टेक्समा कोर्स डिजाइन गरेको थियो? त्यसको भावना के थियो? कसरी पढाउने भन्नेबारे जान्नुपर्छ।’
पाठ्यक्रममा दिने उदाहरण फरक हुने भएकाले सम्बन्धित ठाउँको भौगोलिक, राजनीतिक र सामाजिक परिवेश र विद्यार्थीको मानसिकतासहित वातावरणले ठूलो प्रभाव पार्ने उनी बताउँछन्।
त्रिवि ठूलो विश्वविद्यालय भएका कारण सबै समस्याको समाधान एकैपटक नभए पनि क्रमशः समस्या समाधान हुने उनले बताए। ‘हाम्रो परीक्षा प्रणाली कसरी सुधार गर्न सकिन्छ? एउटा सेन्टर तोक्दा यति धेरै राजनीतिक पार्टीहरूको फोन आउँछ, त्यो तपाईँ कल्पनै गर्न सक्नुहुन्न। के हो त राजनीतिक पार्टीहरूको त्यही कलेजमा त्यही पालिकामा सेन्टर राख्ने मक्सद?’ रिजाल भन्छन्, ‘अझै पनि हाम्रा विद्यार्थीलाई विदेश पठाउने हो त? के कारण मेरै पालिकामा, त्यही सेन्टरमा परीक्षा हुनुपर्छ?’
एउटा विद्यार्थीले बीसौँ हजार रुपैयाँ रकम खर्च गरेर परीक्षा दिन टाढासम्म जानुको कारण पछाडि पनि केही रहस्य रहेको उनले बताए। परीक्षाको केन्द्र कहाँ तोक्ने, राजनीतिक र सामाजिक झुकाव राख्न नपाइने बताउँदै उनले विद्यार्थीलक्षित योजना ल्याउनमा त्रिवि अग्रसर रहेको स्पष्ट पारे।
‘यो देशका युवाले म यो देशमा पढेको हुँ, मैले राम्रो जाँच दिएको छु, म अब्बल नागरिक हुँ भन्ने अनुभूति दिलाउने काम हाम्रो हो,’ रिजाल भन्छन्, ‘अहिले पनि एउटा विद्यार्थी बीसौँ हजार खर्च गरेर परीक्षा दिन पुगिरहेको हुन्छ। त्यो पछाडि केही न केही रहस्य छ नि त। त्यो समाधान कसरी गर्ने? यसबारे पर्याप्त छलफल हुनुपर्छ। उत्तरपुस्तिका परीक्षणमा एकरूपता कसरी ल्याउने यसबारे हामी सचेत हुनैपर्छ।’
उनले विद्यार्थीलाई पक्षपात नगरी उत्तरपुस्तिका परीक्षण गर्न प्राध्यापकहरूलाई निर्देशन दिए। एउटा र अर्को विद्यार्थीबीच विभेद भइरहेको गुनासा आउने गरेको उनको भनाइ छ।
विगतको नेतृत्वले त्रिवि सुधार नगरेको आरोप खेप्दै आएको सन्दर्भमा उनले भने, ‘एकदिन म पनि विगत हुन्छु। त्यसैले शिक्षाको गुणस्तर सुधार गर्नका निम्ति के गर्न सकिन्छ, त्योबारे छलफल गरी सुधार गर्नुपर्छ।’
त्रिविले प्रदेशअन्तर्गत पाँच वटा ठाउँमा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय राखेको उनले जनाए। कोशी प्रदेशमा विराटनगरको परीक्षा नियन्त्रण कार्यालयबाटै नतिजा अब्बल बनाएर अन्य प्रदेशका सिकाउने नमुना काम गर्नुपर्ने उनको भनाइ छ।
‘एउटा कक्षामा ४८ जना विद्यार्थी छन् भने प्रत्येक विद्यार्थीको पहिलो प्रश्नको उत्तर जाँच्नुपर्छ। एउटा विद्यार्थीले ९० ल्याउने, अर्कोले ३६ नम्बर ल्याउने कसरी हुन्छ? त्यो सिस्टमभित्र केही न केही त्रुटि छ भन्ने लाग्छ। भोलि परीक्षा छ भनेर आज केन्द्र तोकिदिएका छौँ। एउटा विद्यार्थीलाई कति तनाव हुन्छ होला?,’ रिजालले भने, ‘अलिकति पारदर्शी र विवेकपूर्ण तरिकाले परीक्षा प्रणालीलाई सुधार ग¥यौँ भने हामीमाथि लागेको आरोपमा कमी आउँछ। यसका लागि राजनीतिक दबाब थाम्ने काम मेरो भयो।’
मोफसलको समस्या थाहा पाउन सम्बन्धित क्षेत्रमै पुग्नुपर्ने भएकाले सम्बन्धित क्याम्पस र भूगोलका विद्यार्थीहरूको समस्या थाहा पाउन उक्त कार्यक्रमको आयोजना गरिएको उनले जनाए। कोशी प्रदेशको परीक्षा र समग्र त्रिविको परीक्षा सुधार गर्नका लागि उनले सुझावसमेत माग गरेका छन्।
‘ग्रासरुटको समस्या थाहा पाउन माथि बसेर हुँदैन। कर्णालीको योजना बनाउने, कर्णाली नै टेकेको छैन। तराईको मुद्दामा तराई नै नटेक्ने, चुरेमा पाइलै नराखेको मानिसले चुरेको योजना कसरी बनाउँछ? हामीले उत्तरपुुस्तिका परीक्षण गर्दा भेदभाव गरेका पो छौँ कि? यसमा सुधार गर्न पनि यो कार्यक्रमले सहज हुनेछ,’ रिजालले भने, ‘नयाँ पुस्ताले देश छाड्नुको कारणमध्ये शिक्षामा पनि आरोप लागेको छ। उनीहरूलाई संरक्षण गर्नका लागि परीक्षा पनि एउटा कारण हो, त्यसकारण परीक्षालाई कसरी सुधार गर्ने भन्नेबारे पर्याप्त बहस आवश्यक छ।’
कार्यक्रममा त्रिवि शिक्षाशास्त्र सङ्कायका डिन प्रा.डा. वेदराज आचार्यले उत्तपरपुस्तिका व्यवस्थापन र एकरूपताबारे आफ्ना धारणा व्यक्त गरे।
‘जस्तोसुकै क्याम्पस भए पनि राम्रो काम गरौँ । हाम्रो पाठ्यक्रम एउटा छ, क्याम्पसमा अर्कै पाठ्यक्रम छ,’ उनले भने, ‘अहिले पनि एउटा पाठ्यक्रम अध्यापन हुने र अर्को पाठ्यक्रममा परीक्षा लेख्नुपरेका गुनासा आइरहेका छन् ।’ परीक्षामा उत्तरपुस्तिका जाँच गर्दा भएका गल्तीलाई आगामी दिनमा दोहोरिन नदिन प्राध्यापकहरू सचेत हुनुपर्ने उनले बताए।
कार्यक्रममा रजिस्ट्रार रिजाल, डिन आचार्य, विषय विज्ञ डा. रमेश सापकोटा, केन्द्रीय परीक्षा सञ्चालक सदस्य शत्रुघ्नप्रसाद गुप्ता, प्रा.डा. टोलानाथ काफ्लेले अवधारणासहित प्रस्तुतीकरण राखेका थिए।
उद्घाटन कार्यक्रममा जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी, क्याम्पस प्रमुख डा. गीता अधिकारी, डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगर, वरुण बहुमुखी क्याम्पस संखुवासभाकी त्रित्ररेखा कार्की, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्यलगायतले बोलेका थिए।