
गाढा गुलाफी रङको टिसर्ट र फूलबुट्टे फरिया लगाएकी विष्णुमाया विक उमेरले ५४ वर्ष पुगिन्। उनको दिनचर्या पँधेराबाट पानी ल्याएर सुरु हुन्छ। खोटाङको केपिलसागढी गाउँपालिका-६ दिप्सुङमा विष्णुमाया एक छोरा, बुहारी र नातिसँगै बस्छिन्। जेठो छोरा विदेशमा काम गर्छन् भने कान्छो छोराको स्वास्थ्य अवस्था कमजोर भएका कारण घरमै बस्छन्।
विष्णुमायाको दाहिने हात राम्रोसँग काम गर्दैन। टाउको हल्लिरहने समस्या छ। त्यसकारण उनी कहिल्यैकाहीँ मात्रै पानी ल्याउन पँधेरोसम्म पुग्छिन्। यस्तो बेलामा पँधेरामा नियमित पानी लिने जाने जिम्मेवारी हुन्छ बुहारीको।
‘घरमै खानेपानीको व्यवस्था छैन। मलाई त हिँडेर पँधेरोसम्म पुगेर पानी ल्याउन झन्डै २/३ घन्टा लाग्छ। बुहारी गइन् भने उसलाई १ घन्टा लाग्छ’, विष्णुमायाले भनिन्। पँधेरामा सधैँ पानी पाइँदैन। कहिलेकाहीँ त छिमेकीले पानी बन्द गरिदिन्छन्। ‘कोही पाहुना आइहाल्यो भने पानी खोज्न हिँडिहाल्नुपर्छ,’ उनी सुनाउँछिन्।
पानी लिन बिहान समयमै पुगिएन भने रित्तै गाग्री लिएर फर्किनुपर्ने बाध्यता गाउँलेलाई छ। विष्णुमायाले भनिन्, ‘पानी नहुँदा नानीको लुगा धुन पनि पाइँदैन। आफ्नै सरसफाइ पनि गर्न मुस्किल हुन्छ। आफ्नै धारा नहुँदा छिमेकीको भरमा बस्नुपर्छ। पानी नै नहुँदा त केही गर्नै नसकिने रहेछ।’
त्यति मात्रै होइन, शरीर स्वस्थ नभएका कारण उनी राम्रोसँग सुत्न सक्दिनन्। उनले भनिन्, ‘ढाड पनि दुखिरहन्छ। बुहारी पानी लिन आउजाउ गर्दा उसको पनि समय खेर जान्छ’, उनले सुनाइन्।
बुहारी र नातिसँगै झन्डै चार घन्टाको बाटो हिँडेर अपांगता भत्ता लिन केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला आइपुगेकी उनको अनुहारमा खानेपानीको समस्याले भोग्नुपरेको पीडा प्रस्ट देखिन्थ्यो।
विष्णुमाया मात्रै होइन दिप्सुङकै धनकुमारी राईको दैनिकी पनि खानेपानीको समस्याले उथलपुथल हुन्छ। विद्यालय कर्मचारी रहेकी धनकुमारी पानीको समस्याका कारणले नियमित कामदेखि लिएर सरसफाइमा पनि समस्या हुने गरेको बताउँछिन्।
दुई सन्तान र श्रीमान्सँगै बस्दै आएकी उनी भन्छिन्, ‘१० मिनेट हिँडेर कुवासम्म पानी लिन जानुपर्छ। पानीको भारी बोकेर आउँदा १५ देखि २० मिनेटसम्म समय लाग्छ। पर ट्यांकीमा पानी जमेको छ भने मात्रै पानी प्रयोग गर्न पाइन्छ नत्र त्यो पनि पाइँदैन।’
पानी नै नभएपछि बच्चाहरूको सरसफाइदेखि आफ्नो नियमित सरसफाइमा पनि समस्या हुने गरेको उनी बताउँछिन्। गाईबस्तुलाई दिन र तरकारी बारीमा हाल्न पानी चाहिन्छ। दिप्सुङकी अस्मिता राईका अनुसार पानीको समस्या वर्षायाममा झन् बढी हुन्छ। सोही चिन्ताले अहिलेदेखि सताइरहेको उनले बताइन्।
पानीका कारण खाना पकाउनेदेखि सरसफाइलगायत सबै काम प्रभावित हुने गरेको उनले बताइन्। वर्षा लागेपछि मुहान पनि फोहोर हुँदा कुवाकै फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
केपिलासगढी गाउँपालिका-१ पत्करुकी ५२ वर्षीया मनकुमारी राई भने घरमै खानेपानीको सुविधा पाएपछि मक्ख छिन्।
३५ वर्षअघि विवाह गरेर आउँदा खोल्साबाट पानी ल्याएर खानुपर्ने बाध्यता अहिले जी फाउन्डेसनले घरमै खानेपानीको सुविधा उपलब्ध गराइदिएपछि उनलाई अहिले सहज भएको छ। उनी विगत सम्झिँदै भन्छिन्, ‘चारजनाको परिवारमा बिहान र बेलुका गरी चार गाग्री पानी खर्च हुन्थ्यो। त्यो पनि खाना पकाउन र भाडा मस्काउन ठिक्क हुन्थ्यो। नुहाई-धुवाई र सरसफाइका लागि फेरि दिउँसो पनि एकएक गाग्री पानी ल्याइन्थ्यो।’
उनी भन्छिन्, ‘१५ मिनेटको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता थियो। विशेषगरी हिउँदमा पाँच बजे उठेर जानुपर्दा निकै कठिन हुन्थ्यो। वर्षामा झन् चार बजे उठेर पानी ल्याउन जान्थ्यौँ। हिउँदमा त मुहानको पानीले हातै ठिहिर्याउँथ्यो।’
पहिला रुघाखोकी लाग्ने, झाडापखाला लाग्नुको कारण पानी नै थियो कि जस्तो अनुभव हुने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘अहिले जी फाउन्डेसनले घरमै धारा ल्याइदिएपछि निकै सहज भएको छ। पहिला भारी गाग्री बोक्दा ढाड दुख्ने समस्या थियो। अहिले त समय पनि बचत हुने र ढाड दुख्ने समस्या हराएको छ।’
अहिले घरसम्मै पानी हुँदा खाना पकाउनेदेखि, लुगा धुने, नुहाउने, तरकारी बारीमा प्रयोग गर्नेदेखि अन्य सरसफाइका लागि पनि सहज भएको उनको भनाइ छ। अनुहारभरि हाँसो बोकेकी उनले भनिन्, ‘लेकबाट आएको पानीको स्वाद पनि निकै मिठो छ। घरमै पानी आइपुगेकाले अप्ठ्यारो बाटो हिँड्नु पनि परेको छैन।’

१३ हजार दुई सय ३१ जनसंख्या रहेको केपिलासगढी गाउँपालिकाका झन्डै दुई सय घरपरिवार अझै पनि शुद्ध खानेपानीको पहुँचबाट टाढा छन्। जसका लागि पालिकाले भने योजना बनाएरै काम गरिरहेको बताउँछन्, गाउँपालिकाका अध्यक्ष समीर राई।
उनी भन्छन्, ‘पानीको मुहान खोजेर पाइएन। लिफ्टिङ गरेर पानी तान्ने योजना बनाएँ। दुई वर्ष केन्द्रमा खानेपानी मन्त्रालयमा धाएपछि बल्ल योजनाले गति पायो। अहिले दिप्सुङमा जी फाउन्डेसनसँग मिलेर काम गर्दैछौँ। जीले पाँच हजार मिटर माथिबाट पानीको मुहान ल्याउने काम गर्दै छ। जसमा ५८ वटा धारा बन्दै छन्। पालिकासँगको सहकार्यमा उहाँहरूले काम गर्दै हुनुहुन्छ।’
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको गममा पनि खानेपानी सर्वसाधारणको सहज पहुँचमा छैन। पानीको समस्याका कारण तिलक कुलुङ राईलाई आफ्नो नियमित काममा अवरोध हुने गरेको छ।
बाल्यकाल सम्झिँदै उनले सुनाए, ‘बच्चामा त पानीको निकै समस्या थियो। एक टोलमा एउटा मात्रै धारा हुँदा पानी नपुग्ने अनि आधा घन्टा जति हिँडेर पानी लिन जानुपर्ने। लाइनमा बसेर पानी नपाउँदा रित्तै फर्किनुपर्ने बाध्यता थियो। जसले गर्दा सबै कामकाज नै प्रभावित हुन्थ्यो।’
बाल्यकालको भन्दा अहिले पानी सहज भए पनि आवश्यकताअनुसार पानीको पहुँच नभएको उनको गुनासो छ। कुलुङ भन्छन्, ‘अहिल्यै पानीको मुहान सुक्न थालिसक्यो। गर्मी झन् बढेपछि कसरी पानीको जोहो गर्ने ठेगान छैन। पालिकाले दिनको पाँच सय लिटर पानी दिन्छ। त्यो पानीले पनि पुग्दैन। बेलाबेला पानी परेर मुहान नै फोहोर हुने अनि त्यही पानी पिउनुपर्ने बाध्यता छ।’
उनी थप्छन्, ‘फोहोर पानीले नै होला, कहिलेकाहीँ बिरामी पनि भइन्छ। तर उपाय नहुँदा गर्ने के?’ नागरिकको खानेपानीमा पहुँचका लागि स्थानीय सरकारले दिगो रूपले काम गरिरहेको छ। पालिकाकी उपाध्यक्ष विपना कुलुङका अनुसार जुन क्षेत्रमा पानी नभइनहुने छ त्यस क्षेत्रमा योजना बनाएर पालिकाले काम गरिरहेको छ। त्यसका लागि पालिकाले बजेट विनियोजन गरेर जी फाउन्डेसनसँगको सहकार्यमा काम गरिरहेको उनको भनाइ छ।
गाउँपालिकामा झन्डै सय डेढ सय घरधुरीको पहुँचमा खानेपानी नभएको भन्दै उनले त्यसका लागि काम भइरहेको बताइन्। पानीको मुहान खोज्ने र एक घर एक धारा योजनाअनुसार काम गरिरहेको भन्दै उनले सबैभन्दा पहिले पानी नपुगेको ठाउँमा काम गरेर अघि बढ्ने योजना रहेको सुनाइन्।
विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त अनुगमन कार्यक्रमले दुई वर्षअघि प्रकाशित गरेको घरायसी खानेपानी, सरसफाइ र स्वच्छता प्रतिवेदनअनुसार विश्वका दुई अर्ब दुई करोड मानिस अझै पनि सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित छन् भने तीन अर्ब पाँच करोड मानिस सुरक्षित सरसफाइको सुविधाको पहुँचभन्दा टाढा छन्।
नेपालका सन्दर्भमा भने संयुक्त अनुगमन कार्यक्रमका अनुसार सुरक्षित खानेपानीमा पहुँच रहेको जनसंख्या १६ प्रतिशत मात्रै छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हालसम्म आधारभूत खानेपानीको सुविधा पाएको जनसंख्या ८६.७३ प्रतिशत रहेको छ। तीमध्ये २८ प्रतिशत खानेपानी आयोजना मात्र पूर्ण रूपमा सञ्चालनमा रहेका सरकारी तथ्यांक छ। तसर्थ करिब ७२ प्रतिशत आयोजनाको मर्मतसम्भार, पुनःस्थापना तथा पुनःनिर्माण गर्नुपर्ने देखिन्छ।
हुन त सरकारले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ पनि जारी गरेको छ। उक्त निर्देशिका प्रभावकारी रूपले कार्यान्वयनमा आउन सकेको छैन।
राष्ट्रिय जनगणना २०७८ अनुसार कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रूपमा धारा-पाइप (घर परिसरभित्र) प्रयोग गर्ने घरपरिवारको संख्या ३४.६ प्रतिशत अर्थात् २३ लाख ४ हजार ६५० छ।
धारा-पाइप (घर परिसरबाहिर) २२.४ प्रतिशत अर्थात् १४ लाख ९२ हजार २८ घरपरिवार रहेका छन् भने ट्युववेल-हाते पम्पको प्रयोग गर्ने २९.८ प्रतिशत अर्थात् १९ लाख ८४ हजार नौ सय ३० घरपरिवार छन्।
ढाकिएको इनार-कुवा १.५ प्रतिशत अर्थात् एक लाख दुई हजार दुई सय ३५, मूल धारा ३.९ प्रतिशत अर्थात् दुई लाख ६२ हजार ४४ घरपरिवारले मूलधाराको पानी उपभोग गर्छन्।
त्यस्तै जार-बोतल ४.६ प्रतिशत अर्थात् तीन लाख आठ हजार तीन सय ८८ परिवार रहेका छन् भने खानेपानीको मुख्य स्रोतका रूपमा खुला इनार-कुवा प्रयोग गर्ने परिवार २.१ प्रतिशत अर्थात् एक लाख ४१ हजार ८५७ घरपरिवार रहेका छन् र नदी-खोलाको पानी प्रयोग गर्ने परिवारहरू ०.४ प्रतिशत अर्थात् २३ हजार ८२७ घरपरिवार छन्। त्यस्तै ०.७ प्रतिशत अर्थात् ४५ हजार ४४९ घरधुरीले भने अन्य स्रोतको पानी उपभोग गर्दै आएको जनगणनाको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीतिको मस्यौदाअनुसार ‘आधारभूत स्तरको खानेपानी सेवा भन्नाले नेपाल खानेपानी गुणस्तर मापदण्ड २०७९ मा उल्लेखित ग्रामीण खानेपानी योजनाका लागि तोकिएको मापदण्डअनुसार गुणस्तर भएको, प्रतिव्यक्ति प्रतिदिन ४५ लिटरसम्म उपलब्ध हुने, घरबाट १०० मिटर सम्मको दुरीमा र दैनिक चार घण्टा सेवा वर्षैभरि निरन्तर रूपमा उपलब्ध हुने आधारभूत स्तरको सेवाको रूपमा वर्गीकरण गरिएको छ’ भन्ने उल्लेख छ। जुन परिभाषाले मूर्त रूप लिएर लागू हुन सकेको छैन।
राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसंख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्याउने राष्ट्रिय लक्ष्य छ। यसैगरी सन् २०३० सम्म खानेपानी तथा सरसफाइमा सबैको पहुँचको सुनिश्चितता गर्ने दिगो विकास लक्ष्य हासिल हुने दाबी छ। जसका लागि ‘एक घर एक धारा’ कार्यक्रम पनि पछिल्लो समय स्थानीय सरकारको समन्वयमा सञ्चालन भइरहेको सरकारको भनाइ छ। साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सरकारले नेपाली नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी सेवाको उपलब्धता सुनिश्चित गर्ने उल्लेख गरेको छ।
खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादव ९५ प्रतिशत नागरिकको पहुँचमा आधारभूत खानेपानी पुगेको दाबी गर्छन्। तर नेपालका २५ प्रतिशत जनसंख्या मात्रै गुणस्तरीय खानेपानीको पहुँचमा रहेको तथ्यांक सरकारको छ।
मन्त्री यादव भन्छन्, ‘सरकारले खानेपानीमा पहुँच पुर्याउनका लागि लिएको लक्ष्य प्रभावकारी रूपले कार्यान्वयनमा ल्याउन योजनाअनुसार काम गर्दै छ। सोहीअनुसार बजेट विनियोजन गर्ने र आगामी आर्थिक वर्षमा लक्ष्य हासिल गर्नमा मद्दत हुने गरी काम गर्नेछौँ।’
खानेपानीको क्षेत्रमा काम गर्ने जानकारहरू सरकारले खानेपानी सम्बन्धी लिएका लक्ष्य पूरा हुनेमा भने चुनौतीहरू रहेकाले सहज नहुने बताउँछन्। खानेपानीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सुमन शर्माका अनुसार समस्याबारे अध्ययन नै नगरी लक्ष्य मात्रै निर्धारण गरेर सरकारले काम गर्न सक्दैन।
पानीका स्रोतहरूबारे अध्ययन, जलवायु परिवर्तन र निरन्तरको प्रतिवद्धता सरकारको मुख्य चुनौती रहेको उनी बताउँछन्। केही सिमित कार्यक्रम ल्याएर मात्रै खानेपानीको पहुँचमा सबैलाई पुर्याउन सरकारका लागि सहज हुनेछैन। त्यसका लागि सरकारले बजेट विनियोजन, निरन्तरको प्रतिबद्धता, ठोस कार्यक्रम ल्याउनुपर्ने र समस्याको गहन अध्ययन गरेर मात्रै अघि बढ्नुपर्ने उनको सुझाव छ।
दूषित पानी पिउँदा हुने स्वास्थ्य समस्या
शुद्ध खानेपानी भएन भने दूषित पानीले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ। दूषित पानी पिउनाले हैजा, टाइफाइट, पोलियो, जन्डिस, आउँ, झाडापखाला, आन्द्रासम्बन्धी रोग, हैजा, म्यादे ज्वरो, जियार्डियासिस, डोलो, कोर्रे र फित्ते जुकाको संक्रमण, रुघाखोकी जस्ता अन्य रोगहरू निम्त्याउँछ।
संक्रामक तथा सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार सहज रूपले खानेपानीको पहुँचमा नभएका विशेषगरी महिलाहरूमा झन् गम्भीर समस्या निम्तिने गर्छ। कारण, पानीको गाग्री लिएर घन्टौँ हिँडेर पानीको मुहानसम्म पुग्नुपर्ने र फेरि भारी गाग्री लिएर घरसम्म पुग्दा उनीहरूमा मानसिक र शारीरिक समस्या देखिने गर्छ।
फोहोर पानी तथा भाडामा पानी जम्मा भई लामखुट्टे र अन्य किटाणु बढ्छन् र अन्य प्रमुख रोग औलो, कालाज्वर, फाइलेरिया, डेंगु (अचल सफा पानी) फोहर पानी जम्मा भई लामखुट्टेबाट सर्ने रोग हुन् र बर्सेनि चुनौती बनिरहेका छन्। जलचर प्राणीबाट सिधै वा पानीका माध्यमबाट सर्नेमा सिस्टोसोमियासिस, सि स्नेल, गिनीवर्म, फिस टेपवर्म, साइक्लोप्स आदि पर्दछन्।
यसबाहेक पानीमा मिश्रित विभिन्न रसायनिक तत्त्वका कारण दाँतको फलोरोसिस, (फ्लोराइड खानेपानीमा बढी हुँदा), वालनिलिमा (नाइट्रेट बढी भएमा), बढी सिसा, आर्सेनिक, साइनाइड, मर्करीबाट उत्पन्न समस्या, छालाको समस्या (पानीमा आर्सेनिक बढी भएमा) तथा सरसफाइ प्रदूषित पानीले गर्दा लुतो, एलर्जी, दाद, आँखाको संक्रमण, नाक, कान, घाँटीको संक्रमण, पेटको संक्रमण, मुसा निस्कने, श्वासप्रश्वासको समस्या तथा नाम्ले जुका र आर्सेनिकका कारण मस्तिष्कमा संक्रमण र सुस्त मनस्थिति आदि गम्भीर समस्या देखिन्छ।
तसर्थ, पानी बाँच्नका लागि नभई नहुने कुरा हो भने रोग फैलाउने किटाणुको भण्डार र रोग लगाउने तथा सार्ने माध्यम पनि हुनसक्छ। समुचित र पर्याप्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा नहुँदा त्यसको प्रत्यक्ष असर किशोरी र महिलामा बढी पर्ने गरेको हुन्छ। यी सुविधाको अभावमा गृहणी महिलाको श्रम र समय, विद्यालयमा अध्ययनरत किशोरीको अध्ययन र महिनावारी स्वच्छता व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने हुन्छ।
पर्याप्त खानेपानी सुविधा नहुँदा महिलाको समय खानेपानी व्यवस्थापनमा बित्ने गर्छ। विद्यालयमा पर्याप्त सरसफाइ सुविधा नहुँदा किशोरीहरूको, मुख्यतः महिनावारीको समयमा, पढाइ प्रभावित हुने गरेको छ।
अर्को पक्ष भनेको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा समेत यसले बाधा पुर्याउँदा अस्वस्थ नागरिकले उत्पादकत्वमा समेत ह्रास ल्याउने र मुलुकले आर्थिक, बौद्धिक रूपमा घाटा व्यहोर्ने हुन्छ। जसले गर्दा नागरिकमात्रै होइन त्यसले समग्र समाज र राष्ट्रलाई नै पनि प्रभावित बनाउने काम गर्छ।