
काठमाडौँ– पिपुल्स क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) नेपालको सहयोगमा ‘दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन विषयक’ दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।
दुईदिने कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थी, अनुसन्धानकर्मी, शिक्षक तथा प्राज्ञिक व्यक्तित्व सहभागी छन्।
कार्यक्रममा बोल्दै पूर्वगभर्नर चिरञ्जिवी नेपालले अहिलेको युगमा क्याम्पस, विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिए। यस्ता सम्मेलन अनुसन्धानका निष्कर्ष मथ्ने थलो भएको बताउँदै नेपालले भने, ‘यस्ता कार्यक्रमले प्राज्ञिक कर्ममा अपरिहार्य भूमिका खेल्दछन् जसले समसामयिक चुनौती समाधानमा शैक्षिक अनुसन्धानको महत्त्वलाई पनि उजागर गर्छ।’
सम्मेलनमा प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रा. डा. अर्हन स्थापितले ‘कर्पोरेट सामाजिक उत्तरदायित्व र दिगो व्यवस्थापन’ विषयमा बोल्दै व्यवसायमा दिगोपन समावेश गर्न कर्पोरेट सामाजिक जिम्मेवारीको भूमिका महत्त्वपूर्ण रहने बताए।
डा. दशरथ न्यौपानेले ‘शैक्षिक क्षेत्रमा उद्यमशील मानसिकताको विकास’ शीर्षकमाथि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। उनको जोड थियो, नवप्रवर्तन र आर्थिक वृद्धिका लागि उद्यमशीलताको समावेशीकरण आवश्यक छ।
सम्मेलनमा डा. शंकरनाथ अधिकारीको ‘व्यवसायको दिगोपनका लागि प्राविधिक उन्नति’ शीर्षकमा प्रविधिहरूले कसरी दिगो व्यवसाय अभ्यासलाई सुदृढ पानै सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ। त्यसैगरी, डा. जीतेन्द्र डंगोलले पनि ‘वित्तीय नवप्रवर्तनका लागि प्राविधिक उन्नति र दिगोपन’ विषयमा कृत्रिम बुद्धिमत्ता र अन्य अत्याधुनिक प्रविधिहरूले वित्तीय क्षेत्रमा ल्याउने रूपान्तरणबारे चर्चा गरेका छन्।
क्याम्पस प्रमुख मनोज कुँवरले सम्मेलनको प्रगतिको सन्तुष्टि व्यक्त गर्दै भने, ‘गत वर्षको अनुभवलाई आधार बनाएर यस वर्ष सम्मेलन अझ व्यवस्थित र सहभागीहरूको संख्यामा वृद्धि भएको छ। हामी यसको गुणस्तर निरन्तर सुधार गर्दै लैजाने लक्ष्य राखेका छौँ।’
सहायक क्याम्पस प्रमुख रोजेश पण्डितले थपे, ‘यस वर्ष एमफिल र पीएचडी अनुसन्धानकर्ताहरूलाई सहभागी गराइएको छ जसले सम्मेलनको शैक्षिक गम्भीरतालाई अझ गहिरो बनाउनेछ।’
सम्मेलनको यो दोस्रो संस्करण हो। पिपुल्स क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय तथा विश्वव्यापी दिगोपना लक्ष्यसँग मेल खाने अनुसन्धान र संवादलाई प्रवद्र्धन गर्न यस्ता कार्यक्रम गर्दै आएको छ। दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनका क्षेत्रमा ज्ञान आदानप्रदान र नवीनतम दृष्टिकोणहरूका लागि यो एक महत्त्वपूर्ण प्लेटफर्म हुने अपेक्षा गरिएको छ।