
पोखरा- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा गण्डकीमा शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ। जसका कारण यात्रु मर्कामा परेका छन्। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको पूर्ण खारेजीको माग गर्दै पूर्व घोषित आन्दोलनस्वरुप शुक्रबार प्रदेशभर सार्वजनिक यातायात नचलेको हो। निजी सवारीसाधन भने चलेका छन्।
सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारीको निर्णयको विरोध गरेका हुन्। व्यवसायीको आन्दोलनले प्रदेशभित्रबाट चल्ने लामो तथा छोटो दूरीका बस, ट्याक्सी तथा सबै सार्वजनिक ढुवानीका साधनहरू बन्द छन्।
प्रदेश सरकारले गत ३१ चैतमा मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङसम्बन्धी नियमावली पारित गरेको थियो। उक्त नियमावली आउनुअघि नै यातायात व्यवसायीहरू आन्दोलनमा रहे पनि प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायी पछि हटेका थिए। तर उनीहरूको माग बेवास्ता गरी राइड सेयरिङ नियमावली लागुपछि पुनः आन्दोलनमा जानुपरेको पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जनाए।
उनका अनुसार प्रदेशभर करिब १५ हजार जति गाडीहरू अहिले घर ग्यारेमा थन्किएका हुन्। पृथ्वी राजमार्ग बस संचालक कम्पनीका मात्रै १२ सय बसहरू देशका विभिन्न ठाउँमा गुड्ने गर्दछन्। यातायात व्यवसायीले शुक्रबार नै काठमाडौँमा चक्रपथ सडकमा समेत गाडी रोकेर विरोध गर्ने जनाएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष केदार पौडेल सरकारको रवैयाविरुद्ध आन्दोलन सुरु गरिएको बताउँदै उनीहरूलाई सबक सिकाउन आन्दोलित हुनुपर्ने परेको प्रस्ट पारे। यातायत व्यवसायीको घोषित आन्दोलनपछि सरकारले मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ। तर व्यवसायी वार्तामा बसेका छैनन्।