
पाँचथर- पाँचथरको हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ। गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत वडाबाट सर्वाधिक अंक ल्याउने छात्रालाई सम्मान गरिएको हो।
वडाको देवी योङहाङ स्मृति भवनमा बिहीबार आयोजित विद्यार्थी प्रोत्साहन कार्यक्रममा निलगिरि माध्यमिक विद्यालयकी छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप प्रदान गरिएको हो। उनले गत वर्षको एसईईमा ३.७५ जीपीए हासिल गरेकी थिइन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ र वडाध्यक्ष बिर्खबहादुर सुहाङले छात्रा थुङ्गिमलाई दोसल्ला ओढाएर, प्रशंसापत्र सहित करिब ८० हजार रुपैयाँ मूल्य बराबरको ‘कोर आई फाइभ’ ल्यापटप प्रदान गरेका थिए।
वडाध्यक्ष सुहाङका अनुसार सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई प्रेरित गर्ने र उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनले यो कार्यक्रमलाई वडाको वार्षिक कार्यतालिकामा समावेश गरी कार्यविधि बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए।
गाउँपालिका अध्यक्ष अधिकारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न अभिभावकको सक्रियता आवश्यक रहेको बताए। ‘अभिभावक सचेत भए मात्रै सामुदायिक विद्यालय सुधारतर्फ उन्मुख हुन्छन्,’ उनले भने, ‘यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैलाई प्रेरित गर्छ।’
शिक्षा अधिकृत केशव तिम्सिनाले ल्यापटप उपहारमार्फत दीर्घकालीन रूपमा उपयोगी सामग्री दिइनु प्रोत्साहनको राम्रो अभ्यास भएको बताए।
गत वर्ष वडाको निलगिरि माध्यमिक विद्यालयबाट १९ र सरस्वती माध्यमिक विद्यालयबाट १४ विद्यार्थी एसईईमा सहभागी भएका थिए। विद्यार्थीलाई प्रोत्साहन गर्ने यो अभियानप्रति अभिभावकहरूले पनि खुसी व्यक्त गर्दै यसको निरन्तरताको माग गरेका छन्।