
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैगरी, कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ।
राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
यिनै क्षेत्रका केही स्थानमा पुनः मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहेको मौसम महाशाखाको भनाइ छ।