
काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आतंकवाद रोक्ने लगायतका अन्य मुद्दाहरूमा वार्ता गर्न गरेको प्रस्तावमा भारतले प्रतिक्रिया दिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शरीफको यो प्रस्तावमा भारतको विदेश मन्त्रालयले बिहीबार प्रतिक्रिया दिएको हो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आतंकवाद र वार्ता सँगसँगै चल्न नसक्ने बताएका छन्।
‘पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धबारे हाम्रो धारणा र हाम्रो व्यवहार बिल्कुलै स्पष्ट छ,’ उनले भने,‘हामी यो दोहोर्याउन चाहन्छौँ कि आतंकवाद र वार्ता सँगसँगै चल्न सक्दैन।’
यसअघि दिएको सूचीअनुसार आतंकवादीहरूलाई आफूहरूको जिम्मा लगाए संवाद हुनसक्ने उनले बताए।
‘केही वर्षअघि हामीले आतंकवादीहरूको सूची दिएका थियौँ, उनीहरूलाई हाम्रो जिम्मा लगाइयोस्, अनिमात्र पाकिस्तानसँग आतंकवादको विषयमा वार्ता हुनसक्छ,’ जयसवालले भने।
त्यस्तै पाकिस्तानले ‘अवैध’ रूपमा कब्जा गरेको कश्मीरको भूभाग खाली गरेपछि मात्र द्विपक्षीय वार्ता हुने उनले बताए।
जयसवालले भने,‘जहाँसम्म जम्मु–कश्मीरको प्रश्न छ, यसमा द्विपक्षीय वार्ता केवल यस विषयमा हुनेछ कि पाकिस्तानले पीओके (पाक–अधिकृत कश्मीर) कहिले खाली गर्छ। यो उसले गैरकानुनी रूपमा कब्जा गरेर बसेको छ।’
पाकिस्तानका प्रधानमन्त्री शरीफले बुधबार अजरबैजानको लाचिन सहरमा पाकिस्तान, टर्की र अजरबैजानको त्रिपक्षीय बैठकलाई सम्बोधन गर्दै शान्ति आफूहरूको प्राथमिकतामा रहेको बताएका थिए।
उनले भनेका थिए,‘हामी हिजो पनि शान्ति चाहन्थ्यौँ, आज पनि चाहन्छौँ र भविष्यमा पनि शान्तिलाई प्राथमिकता दिनेछौँ।’
त्यसपछि अर्को कार्यक्रमलाई सम्बोधन गर्दै शरीफले पाकिस्तान सबै मुद्दाहरू वार्ताको माध्यमबाट समाधान गर्न चाहेको बताएका थिए। पहलगाम आक्रमणमा भारतले प्रमाणविना पाकिस्तानमाथि आरोप लगाएको उनको भनाइ थियो।