बजेटमा लुम्बिनी : अधिकांश पुरानै योजनालाई बजेट, सडकका लागि बजेट खन्याइयो

विनोद परियार १५ जेठ २०८२ २०:२५
290
SHARES
बजेटमा लुम्बिनी : अधिकांश पुरानै योजनालाई बजेट, सडकका लागि बजेट खन्याइयो

लुम्बिनी– अर्थमन्त्री विष्णु पौडेलद्वारा बिहीबार सार्वजनिक आर्थिक वर्ष ०८२/०८३ को बजेटमा लुम्बिनीका अधिकांश पुराना योजना नै प्राथमिकतामा परेका छन्।

अधिकांश अधुरा, बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेट छुट्टाइएको छ। रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित अर्थमन्त्री पौडेलले चुनावी एजेन्डामा समेत राखेको सिद्ध बाबा सुरुङ मार्ग सम्पन्न गर्ने घोषणा गरेका छन्।

उनले सिद्धबाबासँगै नागढुंगा सुरुङ मार्ग सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरेका छन्। यसैगरी पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिएको बुटवल–पोखरा सडक (सिद्धार्थ राजमार्ग) लाई स्तरोन्नति गर्न आवश्यक बजेट छुट्ट्याएको अर्थमन्त्रीले बताए।

अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बजेट सिक्टा र वृहत् दाङ सिँचाइ आयोजनालाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने र यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको वक्तव्यमा उल्लेख गरिएको छ।

यसै गरी बाँकेको नौ बस्ता, दाङको लक्ष्मीपुर, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा निर्माण गरिने जनाइएको छ। यसैगरी बजेटमार्फत अर्थमन्त्री पौडेलले भैरहवाको एकीकृत जाँच चौकी निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरेका छन्।

यस्तै पाल्पा र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्न बजेट छुट्टाइएको छ। अर्थमन्त्री पौडेलले भैरहवा र पोखराका विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने बजेट वक्तव्यमा भनेका छन्।

दाङको टरिगाउँसहित देशका विभिन्न क्षेत्रका विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने जनाइएको छ।

सीमावर्ती दक्षिण नाकाको नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिने बजेटमा भनिएको छ।

यस्तै अध्ययन सम्पन्न भएका सुरुङ मार्गहरू दुम्कीबास–बर्दघाट, बबई–छिन्चु, शिवपुर–भालुवाङ र हात्तीसार–बबई सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ।

नवलपरासी पूर्वको जिल्ला सदरमुकाममा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन ८० करोड बजेट छुट्टाइएको छ। यसैगरी प्रत्येक बजेटमा जस्तै यो वर्ष पनि बुटवल धागो कारखानासहितका उद्योगहरूको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने बजेटमा उल्लेख छ।

यस्तै अर्थमन्त्री पौडेलले आगामी दुई वर्षभित्र पूर्वपश्चिम राजमार्ग, बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे खण्ड सहित ४२२ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गरिने बताएका छन्। पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नतिको कार्य सहितका लागि २१ अर्ब १९ करोड विनियोजन गरेको अर्थमन्त्रीले बताए।

रुपन्देहीको कक्रहवा–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, राप्ती राजमार्गसहितको सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेको उनले बताए।

यस्तै नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण कार्य प्रारम्भ गरिने जनाइएको छ। काली गण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिने, माडी–दाङ र ग्वारखोला बहुउद्देश्यीय आयोजनाको अध्ययन तथा तयारी कार्यलाई तीव्रता दिन ३७ करोड विनियोजन गरेका छन्।

अर्थमन्त्री पौडेलले अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गर्ने, रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियमसहितका देशका विभिन्न क्षेत्रको रंगशाला निर्माणका लागि ४२ करोड बजेट छुट्याएका छन्।

यसैगरी बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिने जनाइएको छ। सम्पदा क्षेत्र लुम्बिनीसहित जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तडलगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास गर्न आवश्यक बजेट छुट्टाइएको अर्थमन्त्रीले बताए।

निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत लुम्बिनी मुक्तिनाथ पदमार्ग विकास गर्ने योजनासमेत बजेटमार्फत उनले अघि सारेका छन्।

यस्तै बेलहिया व्यापारिक मार्ग सडक आयोजना सम्पन्न गर्ने, बुटवल मेडिकल कलेज योजना अघि बढाउन तथा न्यु बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका लागि बजेट छुट्टाइएको छ।

प्रकाशित: १५ जेठ २०८२ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast