
सुर्खेत- राजतन्त्रविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। कर्णाली प्रदेशको राजधानीमा पनि विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ।
यसै सन्दर्भमा कतिले ज्यान गुमाए भने कतिले आफ्नो परिवार गुमाउनुगर्यो। जसका कारण अहिलेसम्म पनि बलिदान दिएका वा मारिएका घरपरिवार आफ्ना आफन्तका वियोगमा तडपिएका छन्। गणतन्त्र दिवस मनाइरहँदा जसले समाजका नाममा बलिदान गरे उही नै बेखबर छन्।
सरकारले गणतन्त्र दिवस भव्य रुपमा मनाइरहेको छ भने उर्काेतिर द्वन्द्वपीडितलाई भने कुनै पनि गणतन्त्रको खबर नआएको गुनासो मानव अधिकारका लागि महिला एकल महिला संघका अध्यक्ष ममता नगालले बताइन्।
उनले भनिन्, ‘कर्णाली सरकारले पनि आज गणतन्त्र दिवस मनायो यस्तो कार्यक्रम मनाउँदा सरकारले हामीलाई खबर गरेन।’
उनी सहिद दिवस र गणतन्त्र दिवसमा मारिएका आफन्तको बढी नै याद आउने बताउँछिन्। सरकारले आफुहरुलाई चासो नदिँदा मन दुख्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीलाई सम्मान चाहिएको छैन, न्याय चाहिएको हो तर हामीलाई नै वास्ता गरिएको छैन।’
व्यवस्था बलियो बनाउन कार्यशैली सुधार गर्नुपर्छ : मख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन्। दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउन हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन्।
जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले गणतन्त्रको विकल्प नभएको बताएका छन्। ‘शासन प्रणाली विकासका क्रममा कमजोरीहरू देखा पर्न पनि सक्छन्। नागरिकका आशातीत अपेक्षा पूरा नहुँदा कहीँ कतै वितृष्णा र टीकाटिप्पणीका स्वरहरू सुनिन पनि सक्छन,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसलाई हामीले स्वाभाविक ठानेर हाम्रा कार्यशैली, व्यवहार र आचरण सुधार गर्न सक्नुपर्छ।’
लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको बुझाइ छ।
‘व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो,’ उनले भनेका छन्, ‘यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ।’