
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीच एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्थाअनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार पूरा गर्नेतर्फ दलहरूको ध्यान जानुपर्ने धारणा राखेका छन्।
‘गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध संघर्ष गर्दै गणतन्त्र र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनुपर्छ’, सन्देशमा उनले भनेका छन्।
उनले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै गणतान्त्रिक शक्तिबीचको बलियो एकता र सहकार्यका साथ जनताको अवस्था बदल्ने अभियानमा केन्द्रित हुन गणतन्त्र दिवसले प्रेरित गरोस् भनी कामना गरेका छन्।