
काठमाडौँ- आज गणतन्त्र दिवस। गणतन्त्र दिवसकै अवसरमा आज राजावादी समूहले काठमाडौँमा प्रदर्शन गर्दैछ। गणतन्त्र खारेजीको माग गर्दै राजतन्त्र स्थापनाका लागि काठमाडौँमा प्रदर्शन गर्दैछन्। ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने तय भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो।
साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा भेला भएर २ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरिने छ।
राजावादी समूहले वर्तमान व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। सोही आन्दोलनका लागि यसअघि नै शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने राजावादी समूहले बताउँदै आएपनि एमालेको समेत सोही क्षेत्रमा प्रदर्शन हुने भएपनि अन्योलता हुँदै आएको थियो ।
तर, प्रशासनले एमालेले २ बजेसम्म प्रदर्शन गर्ने र त्यसपछि राजावादीलाई प्रदर्शनको समय उपलब्ध गराउने गरी समय उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एक अधिकारीले जानकारी दिए। एमालेले भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ।