
इटहरी – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रपछि उल्लेख्य विकास र प्रगति भएको बताएका छन्।
उनले बुधवार कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा प्रगति व्यापक भए पनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताए।
उनले भने, ‘हामीले काम गरेका छौँ। राजस्व ४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ। खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ, तर असन्तुष्टि चुलिएको छ। यसको मूल कारण हाम्रो आचरण हो।’
संविधान संशोधन गरेर मात्र नहुने भन्दै नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या रहेकाले यसलाई सुधार गरेर गएमा निराशा हट्ने उनको जिकिर थियो।
कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उल्लेख्य प्रगति गरेको र यसलाई आम जनतामा बुझाउनुपर्ने बताए। उनले अहिले नेतृत्वको कार्यशैली र ढाँचामा प्रश्न उठेको बताए।
उनले भने, ‘राजनीतिक धरातल, दार्शनिक धरातल कुनै पनि धरातलले नेपालमा राजतन्त्र स्थापना हुँदैन। यसमा कोही लाग्नुको औचित्य छैन यसको बहस पनि निरर्थक छ।’
अहिलेका मूल राजनीतिक दलहरूले आफ्ना कमजोरीहरू जनतासमक्ष राख्दै जनताको हितमा काम गर्नुपर्ने कार्कीले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. मीनेन्द्र रिजालले भने, ‘सबै विकासलाई हेर्ने हो भने विश्वका अरू धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौँ।’
नेता रिजालले २०४८ साल यताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए।
उनले सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्यो अनुसार काम नभएपछि जनतामा निराशा बढेको चर्चा गर्दै दलहरूबीच सहमति र निराशालाई चिर्ने खालको काम गरेर जानुपर्ने बताए।
नेकपा माओवादीका नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको उल्लेख गरे।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उल्लेख्य प्रगतिका बावजुद पनि गणतन्त्रमाथि प्रहार भएकाले त्यसका विविध पक्षमा आम नागरिकमा प्रकाश पार्नको लागि यो कार्यक्रम गरिएको जानकारी दिए।
कोशी प्रदेश सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने सन्दर्भमा बुधबार गणतन्त्रको अवसर सम्भावनाका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।