
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलम रिहा भएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले बम विस्फोट र हत्यासम्बन्धी मामिलामा सफाइ दिएसँगै आलम नख्खु जेलबाट रिहा भएका हुन्।
बम विस्फोट र हत्याको आरोपमा आलम २०७६ असोज २६ गते रौतहटबाट पक्राउ परेका थिए। संविधानसभा निर्वाचनताका २०६४ चैत ७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका आलमको घरमा बम विस्फोट भएको थियो।
बम विस्फोटमा परी घाइते भएकाहरूले पोल खोल्नसक्ने भन्दै २३ जनालाई आफ्नै इँटाभट्टा चिम्नीमा जिउँदै जलाएको आलमाथि आरोप लागेको थियो।
यो घटनामा जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
उच्च अदालत वीरगन्ज इजलासले बुधबार जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो। न्यायाधीशद्वय डा.खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले अभियोग दाबी नपुगेको भन्दै आलमलाई सफाइ दिने फैसला सुनाएको छ।
अदालतको यो फैसलासँगै कांग्रेसका पूर्वसांसद आलम रिहा भएका हुन्।