
काठमाडौँ- बम विस्फोट र हत्याको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमले सफाइ पाएका छन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले आलमलाई सफाइ दिएको हो।
न्यायाधीशद्वय डा. खुशीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले यो फैसला सुनाएको हो।
जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।
उच्च अदालत वीरगन्जले भने जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।
संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।
त्रास देखाएर बुथ कब्जा गरी चुनाव जित्ने रणनीतिमा रहेका मोहम्मद आफ्ताब आलमले बनाउन लगाएको बम विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आलमले बम बनाउन भारतीय नागरिकलाई बोलाएको आरोप छ।
आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूसहित २३ जनालाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जीउँदै हालेर जलाएको अभियोग थियो।
उक्त घटनाको १२ वर्षपछि २०७६ असोज २६ मा मात्र उनी पक्राउ परेका थिए। उक्त घटनापछि नै उनी रौतहट क्षेत्र नम्बर २ बाट दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भइसकेका थिए।
पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।
आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
कर्तव्य ज्यान सम्बन्धी कसुर ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको थियि। अफताब आलमसँगै उनका भाइ मोहम्मत महताब, बद्री सहनी र शेख सराजविरुद्ध जन्मकैदको फैसला आएको थियो। यो सजाय पाउनेमा अर्का अभियुक्त शेख सर्राफ पनि थिए।