दुई छोरीसहित आमाको हत्या : आममाफी नीतिले निम्तिएको परिणाम!

दिनभर बाइकमा घमेर साँझ सँगै खाना खाएका थिए सुजनले

विनोद परियार १४ जेठ २०८२ २०:१५
198
SHARES
दुई छोरीसहित आमाको हत्या : आममाफी नीतिले निम्तिएको परिणाम!

लुम्बिनी– रूपन्देहीको बुटवलमा भएको तीन आमाछोरीको विभत्स हत्याको खबरले जोकोही पनि दिमाग हल्लिन्छ। यस्तो क्रूर हत्या गर्ने व्यक्ति हुन् ३५ वर्षीय सुजन कोइराला। यिनै कोइरालाले सम्बन्धविच्छेद भइसकेकी पूर्वश्रीमती ३३ वर्षीय दीपा बस्याल, उनकी छोरी सात वर्षीया स्नेया र चार वर्षीया हिमानीको विभत्स हत्या गरेका हुन्।

घटनास्थलमा देखिएको दृश्य झनै कहालीलाग्दो छ। ‘तीनैजनाको शव खाटमा थियो, छुरी चक्कु र ह्याम्बरले टाउकोमा हानेर हत्या गरेको देखिन्छ’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले भने।

प्रहरीका अनुसार सुजनले सम्बन्धविच्छेदपछि अर्केसँग विवाह गरेर दुई छोरी जन्माएकी दीपासहित नाबालिकालाई घरमै बोलाएर नियोजित तरिकाले हत्या गरेका छन्। तीन आमाछोरीको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यसबारे अनुसन्धान जारी राखेको छ।

‘घरमै बोलाएर त्यो पनि रातिको समयमा हत्या भएको छ’, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने। उनले केही दिनमै हत्याको कारण बाहिर ल्याउने बताए।
सुजनको स्थायी ठेगाना तानसेन नगरपालिका ७ नम्बरमा पर्छ। यी तीनै सुजन हुन जसले आफ्नै सहोदर माइलो दाजुको हत्या अभियोगमा ९ वर्ष जेल बसेका थिए।

दाजुको हत्या अभियोगमा जन्मकैदको सजाय भोगेका उनको कार्यशैली र आचार सुधार भएको भन्दै ७८ सालमा तत्कालीन सरकारले संविधान दिवसको सन्दर्भ पारेर आममाफी दिएको थियो।
आममाफीपछि जेलबाट छुटेका सुजन केही समय पाल्पामा बसे। तर आफ्नै दाजुको हत्या गरेको अभियोग लागेकाले गाउँले पनि डराए। सुजन जेलमै हुँदा बुवाको निधन भएको र अहिले आमा र ठूलो दाजु पाल्पामा छन्।

‘जेलबाट निस्केपछि बुटवल बस्न थालेको हो’, पाल्पा तानसेन वडा न. ७ का वडाध्यक्ष प्रदीप खनालले भने, ‘यो एकदम कहालीलाग्दो आपराधिक घटना हो।’ उनले आफूहरूसँग भेट्दा सुध्रने भनेर भन्ने गरे पनि तीन आमाछोरीको हत्याले आफूहरूलाई समेत बैचन बनाएको बताए।

हत्याअघि राति होटल गएर सँगै खाजा खाएका थिए

प्रहरीका अनुसार सुजनले बिहान ४ देखि ५ बजेको बीचमा हत्या गरेको देखिएको छ। बुटवल ११ होराइजनचोकस्थित मिलिजुलीपथमा एक तलाको ट्रस्ट हालिएको घरमा उनी एक्लै बस्दै आएका थिए।
सुजनले १३ वर्षअघि पाल्पा तानसेनमा आफ्नै दाजुलाई हत्या गरेपछि २०६९ सालमा पाल्पामा जेलचलान भए।

जेलचलान भएपछि उनको दीपा बस्यालसँग २०७२ सालमा सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद भएपछि दीपाले कावासोतीका शंकर ढकालसँग विवाह गरिन्। शंकरसँग विवाह भए पनि दीपा अहिले भने तानसेन नगरपालिकाको कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन्।

दोस्रो विवाहपछि पनि उनी तानसेनमै बस्दै आएकी थिइन्। तानसेन-७ कै दीपा र सुजनबीच प्रेमविवाह भएको थियो। १० वर्षअघि सुजन र दीपाबीच सम्बन्धविच्छेद भए पनि एक वर्षदेखि दुईजनाबीच पुन सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दीपा मंगलबार दुई छोरीसहित बुटवल आएकी थिइन्। बुटवल आएपछि सुजनसँगै भेट भएको देखिन्छ। ‘पहिल्यैदेखि बेलाबेला भेट हुने रहेछ, मंगलबार पनि घुमेर एउटा होटलमा गएर सँगै खाजा खाएको देखिन्छ’, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी रानाले भने। उनका अनुसार राति ८ देखि ९ बजेसम्म बुटवलकै कुनै एक होटलमा खाजा खाएको र त्यसपछि सुजनको घरमा पुगेको देखिएको छ। प्रहरीका अनुसार सुजनले दीपा, दुई बच्चालाई आफ्नो बाइकमा घुमाएका थिए।

यसरी पुग्यो प्रहरीसम्म हत्याको खबर

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार घटना बिहानको समयमा भएको देखिएको छ। घटनास्थलमा घरेलु हतियारको प्रयोग गरी विभत्स रूपमा हत्या गरेको देखिन्छ।

चक्कु, ह्याम्बर र त्यतिले नभएर बच्चाहरूलाई घाँटी च्यापेर हत्या गरेको प्रमाण भेटिएको छ। ‘घटना अत्यन्तै विभत्स रुपमा भएको छ, प्रहरी घटनास्थल पुग्दा तीनैजनाको शव रगताम्य थियो’, प्रहरी उपरीक्षक कार्कीले भने।

घटनाको खबर उनै सुजनले नै गर्न लगाएको देखिन्छ। घटना बिहान ४ बजेतिर भएको प्रहरीले जनाएको छ। सुजनले घरमा किचनको काम गराउँदै आएका थिए। प्रहरीका अनुसार बुधबार ६ बजेतिर काम गर्ने अर्जुन रञ्जनलाई बोलाएँ।

उनी त्यहाँ साढे ६ बजेतिर आइपुग्छन्। घरमा पुग्दा रगताम्य शव देखेपछि उनले तुरुन्तै देवीनगर प्रहरीलाई खबर गरेका हुन्। प्रहरी तुरुन्तै घटनास्थल पुगेर सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

स्थानीयका अनुसार सुजनले हत्या गरेपछि छिमेकीहरूले आक्रमण गर्ने भयले आफैँले प्रहरी बोलाउन लगाएको हुन सक्ने बताएका छन्। उनले आफ्नै घरमा सटर हालेर जेल बस्दा सिकेको मुढा बनाउने लगायतका हस्तकलाका पसलसमेत सञ्चालन गर्दै आएका थिए। टोल छिमेकमा पनि त्यति धेरै सम्पर्क नगर्ने सुजनको घरमा कहिलेकाहीँ मात्रै मानिस आउने गरेको त्यहाँका स्थानीय बासिन्दा बताउँछन्।

प्रकाशित: १४ जेठ २०८२ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast