
काठमाडौँ- ‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए। बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरु भयो। सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै विपक्षी दलले पुनः विरोध जनाए।
बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो। बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए। केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन भने कोही आपसमा छलफल गर्न थाले।
कोही सांसद चमेनागृहमा चिया पिउन गए भने केही नियमित काम भन्दै सिंहदरबारतर्फ लागे। प्रतिनिधिसभाको बैठक अवरोधपछि स्थगित भएसँगै प्रतिनिधिसभाका केही सांसद भने राष्ट्रियसभाको बैठक अवलोकन गर्न छिरे।
राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे नै सुरु भएको थियो। तल्लो सदनमा अवरोध भए पनि माथिल्लो सदन नियमित चल्यो। फुर्सदको सदुपयोग गर्दै प्रतिनिधिसभाका केही सदस्यहरू माथिल्लो सदनमा उपस्थित भएको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखियो।
प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको नियमित बैठक कक्षमा नभई दर्शकदीर्घामा उपस्थित भएका थिए। प्रतिनिधिसभा सदस्यहरू राष्ट्रियसभाको दर्शकदीर्घामा उपस्थित भई त्यहाँको काम कारबाहीको प्रत्यक्ष अवलोकन गरे।
राष्ट्रियसभाको बैठक चलिरहँदा सांसदहरू सुहाङ नेम्वाङ, राजेन्द्रकुमार राई, प्रभु हजारा र सराज अहमद फारूकीको दर्शकदीर्घामा उपस्थित थियो। यो दृश्य देखेपछि पत्रकारले सांसद नेम्वाङलाई सोधे, ‘राष्ट्रियसभामा तपाईँहरू किन जानुभएको? उनले संक्षिप्त जवाफ दिँदै भने, ‘माथिल्लो सदनमा के कसो हुँदो रहेछ भनेर जानकारी लिन गएका हौं।’
उनले माथिल्लो सदनको नियमित काम कारबाही र गतिविधिका बारेमा जानकारी लिने उद्देश्यका साथ गएको प्रतिक्रिया दिए।
अर्का सांसद सराज अहमद फारूकीको पनि नियमित काम कारबाहीको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रियसभामा गएको भनाइ छ।