रमेश लेखकबारे गगन : अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ

विवेक विवश रेग्मी १४ जेठ २०८२ १७:०७
88
SHARES
रमेश लेखकबारे गगन : अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ

इटहरी– नेपाली कांग्रेसका महामहन्त्री गगन थापाले भिजिट भिसा प्रकरणको अनुसन्धानमा कुनै अलमलमा नपरी संगठित जालो र अपराधमा संलग्न दोषीलाई दण्डित गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस धरान उपमहानगर सम्मेलनमा बुधबार बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्री रमेश लेखकसम्म पुगे अनुसन्धानको दायरमा आएका व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक र वैधताको सवाल बन्ने जिकिर गरे।

यस्तो अवस्थामा मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय रहने र गृहमन्त्री  लेखकले पनि यसै गर्ने थापाको दाबी छ। लेखक कांग्रेसबाट मन्त्री बनेका हुन्।

‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारी जसरी इमानदारी र कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ,’ थापाले भने, ‘अहिले उहाँमाथि उठेका प्रश्नमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो। हामीलाई थाहा छ- कानुनी राज्यमा कसैको विश्वास वा आग्रहभन्दा माथि तथ्य र प्रमाण हुन्छ।’

गृहमन्त्रीको राजीनामा माग भइरहेका सन्दर्भमा महामन्त्री थापाले अनुसन्धानको दायरमा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याउने विषय कानुनी हिसाबले उपयुक्त र न्यायोचित नहुने पनि बताए। ‘अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने अनुसन्धानको दायरमा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिँदै जान्छन्,’  उनले भने, ‘त्यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरमा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याउने विषय न त कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ। हामीले भन्दै आएको कुरा यही नै हो र यो भिजिट भिसा प्रकरणका सन्दर्भमा पनि कुरा यही नै हो।’

मन्त्री लेखक अनुसन्धानको दायरमा आएको अवस्थामा विगतमा आफूहरूले लिएको अडान भिजिट प्रकरणमा पनि उस्तै हुने उनको भनाइ छ। महामन्त्री थापाले भिजिट भिसाको नाममा हुने गरेको ठगी धन्दा र यसको सञ्जाल सधैँका लागि बन्द गर्न कानुनी र प्रशासनिक सुधारमा जोड दिए।

भिजिट भिसा प्रकरण छानबिन गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर निष्पक्ष ढंगले अगाडि बढ्नुपर्ने उनले बताए।

‘कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाब वा प्रभावमा नपरी निष्पक्ष ढंगले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ। कुनै अलमलमा नपरीकन यसको गरिहाइसम्म पुग्नुपर्छ। जो-जो परोस्, जहाँसम्म पुगोस्, यसका जरा, हाँगाबिँगा सबै खोज्नुपर्छ,’ थापाले भने।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री  लेखक विवादमा तनिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो। उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले मंगलबार र बुधबार गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक चल्न दिएनन्।  बैठक बिहीबार साढे १ बजेसम्मका लागि स्थगित भएको छ।

संविधानअनुसार जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्छ। प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग यथावत् राख्दै बजेट भने नरोक्ने भएका छन्।

प्रकाशित: १४ जेठ २०८२ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast