
काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार ३ः३० बजेका लागि निर्धारण गरिएको छ। १ बजे बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो। सभामुख देवराज घिमिरेले बैठक ३:३० बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले लगातार दोस्रो दिन संसद् अवरुद्ध गरेका हुन्।
मंगलबार पनि मन्त्री लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए।
विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग कायमै राख्दै बजेट ल्याउन दिने भएका छन्। नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूको संसद् भवन नयाँबानेश्वरमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको माओवादी सांसद माधव सापकोटाले जानकारी दिए।
भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री लेखक विवादमा तनिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो। उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका हुन्।