
म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँका कृषकलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत कृषि औजार वितरण गरिएको हो।
७५ प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगंगा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिए।
थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन दोस्रो चरणमा वितरण गरिने उनले बताए।
सिँचाइका लागि २० एमएमको चार हजार ३६४ मिटर, २५ एमएमको एक हजार ५००, ३२ एमएमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण गर्ने क्रममा रहेको कृषि अधिकृत जोशीले बताए।
रघुगगां गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले मंगलबार कृषि औजार वितरण गरेका थिए।