
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हाल मनसुन अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम मध्य र उत्तरी बङ्गालको खाडीको केही क्षेत्रका साथै त्रिपुरा, मनीपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म फैलिएको छ ।
बंगालको खाडी र उत्तरपूर्वी भूभागका बाँकी भूभाग तथा पश्चिम बंगाल र सिक्किमका केही भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।