
पोखरा- नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर, पोखराले उच्च पर्वतीय क्षेत्रमा हुने विपद् व्यवस्थापनसम्बन्धी अभ्यास कार्यक्रम ‘अभ्यास हातेमालो-२०८२’ सुरु गरेको छ। गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेनाले उच्च पर्वतीय विपद् पूर्वतयारी र प्रतिकार्य अभ्यास सञ्चालन गरेको हो।
आइतबार र सोमबार पोखरामा उच्च पर्वतीय विपद् व्यवस्थापनका विषयमा अभ्यास गरिएकामा बिहीबारदेखि मुस्ताङको जोमसोममा प्रयोगात्मक अभ्यास हुने पृतनाका महासेनानी विक्रमदेव गिरीले जानकारी दिए।
जोमसोम र नीलगिरि हिमाल क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास हुने उनले बताए। अभ्यासमा सहभागी सेनाको टोली मुस्ताङ पुगिसकेका छन्।
‘हिमाली तथा उच्च पर्वतीय क्षेत्रमा निम्तने विपद् व्यवस्थापनमा सरोकारवालाबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने, ‘यसले विपद् प्रतिकार्यको क्षमता र आवश्यकता पहिचान हुनेछ।’
‘टेबल टप अभ्यास’का सञ्चालक महासेनानी गिरीले हिमाली क्षेत्रमा हुने विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि दक्ष मानवसंसाधन, उपकरण र सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताए। हाल सेनालगायत सुरक्षा निकायसँग भएको मानवसंसाधन र उद्धार सामग्री पर्याप्त नभएको उनको भनाइ छ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले विपद् पूर्वतयारी र प्रतिकार्य अभ्यासमा प्रदेश सरकारले तीनवटै सुरक्षा निकायलाई सहयोग गर्दै आएको उनले बताए।
‘सेनाले सञ्चालन गरेको अभ्यासले उच्च पर्वतीय क्षेत्रमा हुने विपद् व्यवस्थापन र न्यूनीकरणमा टेवा पुग्नेछ’, उनले भने, ‘गण्डकी प्रदेशको हिमाली क्षेत्रमा पर्यटकको आवातजावत बढी हुने भएकाले विपद्का कारण यस क्षेत्रको पर्यटनमा पर्नसक्ने असरलाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुनेछ।’
उच्च पर्वतीय विपद् प्रतिकार्यमा समन्वय, सहयोग र सहकार्यका लागि सेनाले ‘अभ्यास हातेमालो’ कार्यक्रम सञ्चालन गरेको पश्चिम पृतनाका पृतनापति उपरथी मधुकरसिंह कार्कीले बताए।
अभ्यासमा गण्डकी प्रदेशमा उच्च पर्वतीय विपद् प्रतिकार्य तथा व्यवस्थापन आयोजनाका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव लक्ष्मीभद्र वाग्लेले प्रस्तुतीकरण राखेका थिए।
विपद् जोखिममा जलवायु परिवर्तनको असरका विषयमा डा.दीपक विक्रम थापा क्षेत्री, उच्च पर्वतीय क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको क्षमता, तयारी र आवश्यकताका विषयमा नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका सेनानी शक्तिराज श्रेष्ठले सहजीकरण गरेका थिए।
त्यसैगरी मुस्ताङ र मनाङको सिमानामा पर्ने थोराङ भञ्ज्याङमा विसं २०७१ असोजमा आएको हुडहुड चक्रवातको कारण सिर्जित विपद्को अवस्था, खोज तथा उद्धारको सिकाइका विषयमा सहायक रथी अर्जुन बस्नेत, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी गराएका थिए।
वि.सं. २०७९ मा मुस्ताङको थासाङमा भएको तारा एयरको विमान दुर्घटनामा गरिएको खोज तथा उद्धारका विषयमा सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका सशत्र प्रहरी नायक उपरीक्षक लक्ष्मण बरालले जानकारी गराएका थिए।
उच्च हिमाली तथा पहाडी भेगमा खोज तथा उद्धार कार्यक्रम सञ्चालनको अवस्था र चुनौतीका विषयमा हिमालयन उद्धार संघ नेपालका डा.सन्तोष बानियाँ र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका डा.रमेशकुमार केसीले सहजीकरण गरेका थिए।
कार्यक्रममा नेपाली सेना, सशत्र प्रहरी बल, नेपाल प्रहरीका वरिष्ठ अधिकारी, प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो।
अभ्यासका क्रममा भएको समूहगत छलफल र प्रस्तुतीकरणले उच्च पर्वतीय क्षेत्रमा हुने विपद् व्यवस्थापनमा सरोकारवाला पक्षको भूमिका र जिम्मेवारीको पहिचान गर्न मद्दत पुर्याएको महासेनानी गिरीले बताए।
उक्त अभ्यासको समापनका क्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनामा प्रदेश सरकारले स्रोतसाधन वृद्धि गर्दै लैजाने बताए।