
काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन्।
संसद् बैठक स्थगित भएपछि मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाहीसमेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए।
उनले राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरुले अभिव्यक्ति दिएको बताए। बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे।
बर्तौलाले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिल्यै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए। बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानुनले काम गरेको र सुशासन प्रवद्र्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे।