
लुम्बिनी- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाइनु राम्रो नभएको टिप्पणी गरेका छन्। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीस्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनी सिंहदरबार’ बनाइएको तर्फ संकेत गर्दै उनले खेतीयोग्य भूमि मासेर अनुत्पादक लगानी राम्रो नहुने बताएका हुन्।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्तीले भने, ‘म बुटवलमा बोल्दा राजधानी देउखुरी हुन हुँदैन भन्नेसँग सम्बन्धित छैन। पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन।’
उत्पादन नहुने ठाउँलाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ। अहिले भारतीय नाकाबाट सहज रुपमै खाद्यान्न आयात भएकाले खाना पाइरहेको सन्दर्भ उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा खेतीयोग्य जमिन मास्दा क्षति हुने संकेत गरे।
‘नाका खुलेको छ, कुहिएको भए पनि खाना पाएका छौँ’, प्रदेश प्रमुख घर्तीले भने।
उनले जनप्रतिनिधिहरु मितव्ययी हुनुपर्ने बताए। घर्तीमगरले आफूले सांसद पद पटकपटक अस्वीकार गरेको बताउँदै प्रदेश प्रमुखका रुपमा बाँधिन विवश भएको बताए।
मानवअधिकार रक्षाका सन्दर्भमा गीतबाट भाषण सुरु गरेका प्रदेश प्रमुख घर्तीले आफूले सुधारका लागि बोल्ने गरेको बताए। उनले प्रदेश प्रमुख भएको १० महिनाको अवधिमा एक पटक पनि हवाई जहाज नचढेको, बुटवलका २ वटा केवलकार पनि नचढेको र भत्ता लगायतका सुविधा नलिएको बताए।
‘१० महिनामा एक पटक पनि हवाईजहाज चढेको छैन, बुटवलदेखि नुवाकोट हिँडेर गएँ। केवलकार चढेको छैन, भ्रमणभत्ता पनि लिएको छैन’, उनले भने, ‘अनावश्यक र फजुल खर्च कटौती ठूलाबडाले नै गर्नुपर्छ।’ उनले प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायलाई जनतामा आशा जगाउने गरी काम गर्नका लागि अनुरोध गरे। उनले नेपाल विविधायुक्त समाज भएकाले मानवअधिकार संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए।
कार्यक्रममा रुपन्देहीका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, बार एसोसियएशनका केन्द्रीय सदस्य इन्दिरा आचार्य, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले बोल्दै मानवअधिकार रक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।