गोरखाका गाउँबस्तीमा डा. बाबुराम : विगतका भूल स्विकार्दै गरे नयाँ संकल्प

रमेश दवाडी १३ जेठ २०८२ १४:४४
320
SHARES
गोरखाका गाउँबस्तीमा डा. बाबुराम : विगतका भूल स्विकार्दै गरे नयाँ संकल्प

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हालै गोरखा भ्रमण गरेका छन्। उनले  जेठ ११ देखि १३ गतेसम्म बारपाक सुलिकोट, अजिरकोट, सिरानचोक र पालुङटार क्षेत्रका गाउँबस्ती पुगेर स्थानीय बासिन्दासँग साक्षात्कार गरेका हुन्।

डा. भट्टराई पछिल्लो समय आत्ममूल्यांकनको भूमिकामा छन्। स्थानीय जनतासँगको भेटघाट, जनगुनासोको सुनुवाइ र समसामयिक राजनीतिक विषयमा धारणा राख्दै उनले भने, ‘हामीबाट केही भूल भएका छन्, तर अब तिनलाई सुधार गर्दै अघि बढ्ने हो।’

नेपालको समकालीन राजनीतिमा वैकल्पिक शक्तिको पक्षधरता बोकेर अघि बढिरहेका भट्टराईको यो यात्रा औपचारिकभन्दा बढी आत्मीय संवाद र भावनात्मक बनेको नयाँ शक्तिका कार्यकर्ताहरू बताउँछन्।

भ्रमणका क्रममा उनले समसामयिक राजनीति र भावी योजनाको खाका जनतासामु प्रस्ट पारेका छन्। ‘देशमा राजनीतिक अस्थिरता बढ्दो छ। यो समाप्त गर्न हामीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र पूर्ण समानुपातिक प्रतिनिधिसभा बनाउने प्रस्ताव गरेका छौँ’, उनले भने, ‘सुधारका लागि संरचनागत परिवर्तन आवश्यक छ।’

भ्रष्टाचारमाथि शून्य सहनशीलता अपनाउने भन्दै उनले आफूहरू ‘जनलोकपाल’ गठन पक्षमा रहेको बताए। त्यसले राष्ट्रपतिदेखि स्थानीय जनप्रतिनिधिसम्मलाई छानबिनको दायरामा ल्याउने उनको भनाइ छ। ‘हामी केवल नारा होइन, काममा विश्वास गर्छौँ’,उनले भने।

गोरखामा रहेका ११ पालिकाको राजनीतिक समीकरणको विश्लेषण गर्दै उनले विगतका स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा माओवादीले पालैपालो जितेर के परिवर्तन भयो भन्दै जनतालाई प्रश्न गरेका थिए। उनले भने, ‘विगतमा कांग्रेस र माओवादीले अवसर पाए तर जनता सन्तुष्ट भएनन्। फरक केही भएन। अब हामीलाई पालो दिनुस्। हामीसँग नीति छ, दृष्टिकोण छ, जनसरोकार छ।’

पालुङटार नगरपालिका, वडामामा विगत दुई स्थानीय चुनावमा झिनो मतान्तरले पार्टी पराजित भइएको स्मरण गरे। भट्टराईले भने, ‘अब जनताले बुझ्नुहुन्छ। मौका दिनुहुन्छ। म अर्थमन्त्री र प्रधानमन्त्री हुँदा जुन काम छोटो अवधिमा गरेँ, त्यो कसैले खोट लगाउन सकेका छैनन्। फेरि एकपटक अवसर पाउँदा बाँकी अधुरा काम पूरा गर्छौँ।’

डा. भट्टराईले यसपटकको भ्रमणमा विगतका उपलब्धि, कमजोरी, आगामी योजना र जनअपेक्षा जोडेर आफ्नो सन्देश राखेको बताए। उनले भने, ‘अबको समय वैकल्पिक शक्तिको हो, हामीलाई अवसर दिनुहोस्।’

आँपपीपलको एक खुला स्थानमा आयोजित भेटघाटमा उनले आफ्ना राजनीतिक यात्राका आरोहअवरोह सम्झँदै भने, ‘हामीले विगतमा केही त्रुटि गरेका छौँ। संगठन बनाउन, जनताको मन जित्न र सम्बन्ध सुदृढ गर्न चुक्यौँ होला। तर त्यो आत्मस्वीकृति नयाँ सुरुवातको आधार हो। मैले कहिल्यै भ्रष्टाचार गरेको छैन। नीतिगत रूपमा पनि विचलन भएको छैन।’

उनको भनाइको बीचबीचमा जनताले ताली बजाउँदै समर्थन जनाइरहेका थिए। ‘जनतासँग हामी खुला रूपमा कुरा गर्छौँ। सच्चिएर फर्किन्छौँ,’ भट्टराईले भने।

भेटघाटमा आएका स्थानीय बासिन्दाले पनि आफ्ना गुनासा, अपेक्षा र सुझाव निःसंकोचसाथ राखेका थिए। पालुङटारकी एक महिलाले भनिन्, ‘डाक्टरसाब, तपाईं प्रधानमन्त्री हुँदा गोरखाको आवाज बोक्नुभयो। तर धेरै वर्ष बित्यो, हामीले न त आफ्नो प्रतिनिधि देख्यौँ, न सुनेँ। चुनाव जिताएर कसैलाई पठाइयाे। तपाईँ पटकपटक आउनुहुन्छ। तर चुनाव जिताएर पठाएकाहरू पर्किएनन्।’

बारपाकका एक वृद्ध नागरिकले थपे, ‘भूकम्पपछिको पुनर्निर्माणमा तपाईंको प्रयास थियो, त्यो बिर्सिएको छैन। तर नेता चुनाव जितेर फर्कँदैनन्। हामी थाकिसक्यौँ। तपाईं फर्किनुहोस्, अब गोरखाबाट लड्नुहोस्।’

गोरखाको विभिन्न भेगमा भट्टराईको स्वागत उत्साहजनक देखिन्थ्यो। उनलाई बालुवा, घ्याच्चोक, भच्चेक, थलाजुङ, हर्मी, आँपपीपललगायतका क्षेत्रमा जनताले स्वागत गरेका थिए। ‘गोरखाली जनताले अझै पनि बाबुरामप्रति आस्था राख्छन्, तर अहिले जनताले काम खोजिरहेका छन्, आश्वासन होइन,’ बारपाकका एक युवकले भने।

गोरखा-२ निर्वाचन क्षेत्रका सबै गाउँमा नपुगेकोमा भट्टराईप्रति गुनासो पनि गरेका छन्। अजिरकोटको लप्सीबोट, खरिबोट, टुटुवान, बुद्धसिंह, काफलडाँडालगायतका गाउँमा भट्टराई पुगेनन्।

यस यात्राले डा. भट्टराईको गोरखासँगको सम्बन्धलाई नवीकरण त गरेको छ तर अबको चुनौती जनताका दैनन्दिन समस्यामा हस्तक्षेप गर्न सक्ने निर्णय क्षमता प्रदर्शन गर्नु हो। राजनीतिक रूपमा उनलाई गोरखाले साथ दिन्छ कि दिन्न, त्यो आगामी चुनावले देखाउनेछ। तर यति निश्चित छ- उनको यो यात्रा भौगोलिक भ्रमण मात्र थिएन, यसमा जोडिएको छ उनले विगतमा गरेका गल्ती, जनताप्रतिको भरोसा र राजनीतिक भविष्य।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast